प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ।
सोमबार बिहानदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक जारी रहेको हो। पार्टीको केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेण्डा तय गर्ने उद्देश्यले सचिवालय बैठक बोलाइएको हो।
सचिवालय बैठकलाई विशेष महत्वका साथ हेरिएको छ। विशेषगरी मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण र आगामी दिनमा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा बैठकमा छलफल भइरहेको छ।
बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन तथा अन्य समसामयिक विषयलाई अन्तिम रूप दिने तयारी गरेको छ। केन्द्रीय कमिटीको बैठकलाई थप प्रभावकारी बनाउन सचिवालयले तयार पारेको कार्यसूचीलाई नै आधार मानिनेछ।





