झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध पाँच लाखभन्दा बढी नागरिकलाई खोप दिने अभियान सोमबारदेखि सुरु भएको छ।
स्वास्थ्य चौकी काँकरभिट्टामा कोशी प्रदेशका स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमले खोप लगाएर अभियानको सुरुवात गरेका छन्। उक्त अभियान असोज १५ गतेसम्म झापाका १५ वटै पालिकामा सञ्चालन हुने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले बताएका छन्। उनले यो खोप पूर्णतया सुरक्षित रहेको भन्दै ३० वर्षभन्दा माथि उमेरका सबैलाई खोप लगाउन आग्रह गरेका छन्।
उनले भने, ‘जेईको सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो। लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटून् भन्ने उद्देश्यले स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय भएको छ।’
खोप अभियान मेचीनगर नगरपालिकाबाट सुरु भएको हो। मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले तोकिएको उमेर समूह ३० वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेका छन्।
अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको कार्यालयले जनाएको छ। जिल्लाका १३१ वडामा ९ सय खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन भएको प्रमुख दासले बताएका छन्।
अभियानमा करिब ५ सय स्वास्थ्यकर्मी, ६ सय ११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालित भएका छन्। देशभरमै झापामा जेई सङ्क्रमण उच्च रहेकाले यहाँबाटै खोप अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भइसकेको छ। सङ्क्रमितमध्ये ५० वर्षमाथिका छ जना र आठ वर्षीय एक बालक रहेका छन्। मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको प्रमुख दासले बताएका छन्।
उनले गर्भवती तथा तत्काल खोप लगाउन नमिल्ने अवस्थाका बिरामीबाहेक लक्षित समूहका सबै नागरिकलाई खोप लगाउन आग्रह गरेका छन्।
