रुसको तल्लो सदन ‘स्टेट डुमा’का लागि हालै सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन निकट सत्तारुढ दल ‘युनाइटेड रसिया’ले स्पष्ट अग्रता हासिल गरेको छ ।
रुसी केन्द्रीय निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको ९५.१८ प्रतिशत मतगणनाको प्रारम्भिक नतिजाअनुसार सत्तारुढ दलले ५७.८३ प्रतिशत मत प्राप्त गरेको छ ।
केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एल्ला पाम्फिलोभाले मस्कोमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो नतिजा सार्वजनिक गरेकी हुन् । आयोगका अनुसार शुक्रबारदेखि आइतबारसम्म तीन दिन चलेको निर्वाचनमा ५९.३२ प्रतिशत मतदाताले मतदान गरेका छन्, जुन सन् २०२१ को ५१.७२ प्रतिशतको तुलनामा बढी हो ।
मतगणनाको पछिल्लो विवरणअनुसार युनाइटेड रसियापछि कम्युनिस्ट पार्टी अफ द रसियन फेडेरेसनले १३.८१ प्रतिशत, लिबरल डेमोक्र्याटिक पार्टी अफ रसियाले ८.९८ प्रतिशत र न्यु पिपुलले ७.९६ प्रतिशत मत प्राप्त गरेका छन् । अ जस्ट रसियाले ४.९६ प्रतिशत मत पाएको छ ।
कुल ४५० सदस्यीय रुसी तल्लो सदनका लागि यो निर्वाचन सम्पन्न भएको हो । जसमा आधा सदस्य समानुपातिक प्रणालीमार्फत पार्टी सूचीबाट र बाँकी २२५ सदस्य देशभरका एकल निर्वाचन क्षेत्रबाट निर्वाचित हुने व्यवस्था छ ।
यस पटकको निर्वाचनमा १० वटा राजनीतिक दल चुनावी मैदानमा उत्रिएका थिए । प्रारम्भिक नतिजाअनुसार युनाइटेड रसियाले करिब ३५५ सिट जित्ने प्रक्षेपण गरिएको छ ।
आयोगकी अध्यक्ष पाम्फिलोभाले अन्तिम नतिजा आगामी शुक्रबारसम्म औपचारिक रूपमा सार्वजनिक गरिने बताएकी छन् ।
