काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालकसमेत जलेको घटनाको वास्तविक कारण पत्ता लगाउन प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिएको छ।
समितिका सभापति आशिष गजुरेल, सदस्य धनेन्द्र कार्की तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेबीच भएको छलफलका क्रममा घटनाको निष्पक्ष अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको हो।
घटनाको कारण सार्वजनिक गर्न निर्देशन
छलफलमा सभापति गजुरेलले बसमा आगलागी भएको घटनाको वास्तविक पृष्ठभूमि र कारणबारे गम्भीर अनुसन्धान आवश्यक रहेको बताए।
उनले घटनासँग सम्बन्धित सबै पक्षको निष्पक्ष रूपमा अध्ययन गरी तथ्य बाहिर ल्याउन तथा अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन सार्वजनिक यातायात तथा सडक सुरक्षासम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि छलफलमा जोड दिइएको थियो।
‘जिरो ट्राफिक’ अवधारणाबारे छलफल
उपत्यकाको सडक यातायातलाई व्यवस्थित बनाउन ‘जिरो ट्राफिक’ व्यवस्थापनको अवधारणालाई कार्यान्वयनतर्फ अघि बढाउने विषयमा पनि छलफल भएको सभापति गजुरेलले बताएका छन्।
त्यस्तै, सडकमा खटिने ट्राफिक प्रहरीको सेवा व्यवहारलाई थप मर्यादित र नागरिकमैत्री बनाउनुपर्नेमा समितिले जोड दिएको छ।
गजुरेलले ट्राफिक प्रहरीको सेवामा व्यवहारमा नम्रता, स्पष्ट तथा शिष्ट संवाद र आर्थिक कारोबारमा पारदर्शिता कायम गर्नुपर्ने आवश्यकता औँल्याए।
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा पनि ध्यान
छलफलका क्रममा सडकमा लामो समयसम्म खटिने ट्राफिक प्रहरीको मानसिक स्वास्थ्य र मनोवैज्ञानिक तयारीलाई पनि प्राथमिकतामा राख्नुपर्ने विषय उठाइएको थियो।
यसका लागि ट्राफिक प्रहरीलाई मनोवैज्ञानिक प्रशिक्षण तथा आवश्यक परामर्श उपलब्ध गराउने व्यवस्था गर्न सभापति गजुरेलले निर्देशन दिएका छन्।
उपत्यकामा सवारी चाप बढ्दो
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले छलफलका क्रममा काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक अवस्थाबारे समितिलाई जानकारी गराएका थिए।
उनका अनुसार उपत्यकाका सडकमा दैनिक १५ लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा आउने गरेका छन्। ती सवारीसाधनको व्यवस्थापनका लागि करिब १ हजार ३ सय ट्राफिक प्रहरी परिचालनमा रहेको उनले जानकारी दिएका थिए।
बढ्दो सवारीसाधनको संख्या र सीमित जनशक्तिबीच ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै प्रविधिको प्रयोग बढाउनुपर्नेमा छलफलमा जोड दिइएको थियो।
ट्राफिक व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री तथा नागरिककेन्द्रित बनाउँदै सडक सुरक्षा सुधार गर्ने विषयमा समितिले सम्बन्धित निकायसँग थप छलफल गर्ने जनाएको छ।
