काठमाडौं । नेकपा एमालेले पार्टीको आगामी संगठनात्मक संरचनालाई पूर्णता दिने तयारी अघि बढाएको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकमा नयाँ केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी गठनका विषयमा विस्तृत छलफल भएको छ।
पार्टी कार्यालयमा करिब चार घण्टा चलेको बैठकमा केन्द्रीय कमिटीमा थप गरिने सदस्यहरूको नाम र स्थायी कमिटीमा रहने नेताहरूका विषयमा छलफल गरिएको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।
सचिवालयमा छलफल भएका सम्भावित नामहरूलाई अब केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी छ। केन्द्रीय कमिटीबाट आवश्यक अनुमोदन भएपछि मात्रै नामहरू सार्वजनिक गरिने बताइएको छ।
अन्य दलबाट आएका नेताहरू पनि समेटिने
एमालेले पछिल्लो समय अन्य राजनीतिक दलबाट पार्टीमा प्रवेश गरेका नेताहरूलाई पनि संगठनको जिम्मेवारीमा समेट्ने तयारी गरेको जनाएको छ।
त्यसअनुसार नयाँ केन्द्रीय सदस्य मनोनयन गर्दा विभिन्न दलबाट एमालेमा आएका नेताहरूलाई समेत केन्द्रीय कमिटीमा स्थान दिने विषय छलफलमा राखिएको छ।
ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल
सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनका विषयमा समेत समीक्षा गरिएको थियो।
उपमहासचिव भट्टका अनुसार बैठकले ओलीको राजनीतिक प्रतिवेदनमा केही नयाँ विषयहरू समेटिएको निष्कर्ष निकालेको छ।
अब केन्द्रीय कमिटीबाट प्रस्तावित नामहरू अनुमोदन गर्ने तथा स्थायी कमिटी गठनसम्बन्धी निर्णय अघि बढाउने तयारी एमालेको छ।
