ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारको पुरानो बजार क्षेत्रमा बिहीबार दिउँसो आगलागी भएको छ। दिउँसो करिब १ः३० बजेदेखि सुरु भएको आगो नियन्त्रणका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ।
आगलागी तीव्र रूपमा फैलिरहेको र बाक्लो बस्ती भएका कारण नियन्त्रणमा चुनौती देखिएको प्रहरीले जनाएको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका टोली परिचालन भएका छन्।
ताप्लेजुङका डीएसपी कमल बजगाईंका अनुसार आगो निभाउन दुईवटा दमकल घटनास्थलमा पुगेका छन्। आगलागी नियन्त्रणका लागि जिल्लाका अन्य क्षेत्रबाट समेत थप प्रहरी परिचालन गरिएको छ।
आगो नियन्त्रणमा लिन सुरक्षाकर्मीले निरन्तर प्रयास गरिरहेका छन्। घटनाको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
त्यसैगरी, आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण पनि प्राप्त भइनसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।
