मकवानपुर । मकवानपुरमा सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमाक्षेत्र भएर बग्ने सिमात खोलामा घटना भएको हो। बिहीबार साँझ खोलाको बीचमा रहेको ढुंगामा पुरुषको शव अड्किएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचना पाएलगत्तै अस्थायी प्रहरी पोस्ट छतिवन र इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा खोलाको बीचमा ढुंगामा अड्किएको शव बाहिर निकालेको जनाएको छ। घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।
