अविरल वर्षाका कारण वीपी राजमार्गअन्तर्गत रोशी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले आंशिक रूपमा बगाएपछि राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ।
डाइभर्सन बग्नुका साथै सडकका विभिन्न खण्डमा खसेको पहिरोले वीपी राजमार्ग पूर्ण रूपमा प्रभावित बनेको हो। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि सो मार्ग हुँदै चल्ने सवारीसाधन पूर्ण रूपमा ठप्प भएका छन्।
यसका अतिरिक्त राजमार्गअन्तर्गत चारसयबेंसी, चौकीडाँडा र गिम्तीबेंसी खण्डमा माथिबाट पहिरो खस्दा सडक सञ्जाल थप प्रभावित भएको छ।
सडक अवरुद्ध भएपछि उक्त क्षेत्रमा यात्रा गर्ने सयौँ यात्रु र सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन्। सडक डिभिजन भक्तपुरले अवरुद्ध सडक खुलाउन प्राविधिक टोली परिचालन गरिसकेको छ।
डिभिजनका अधिकारीहरूका अनुसार पानी पर्न रोकिएको अवस्थामा पाँच घण्टाभित्र यातायात सुचारु गर्ने गरी कार्ययोजना अघि बढाइएको छ। स्थायी संरचनाको मर्मत तथा डाइभर्सन पुनर्निर्माणका लागि आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको छ।
हाल पहिरो पन्छाउने काम जारी रहे पनि निरन्तरको वर्षाले काममा कठिनाइ उत्पन्न भएको छ। सम्बन्धित निकायले यस रुट भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
