पृथ्वी राजमार्गअन्तर्गत कुरिनटार क्षेत्रमा त्रिशूली नदीले सडकको आधारभूत भाग कटान गर्दा सडक भासिएको छ।
राजमार्गको ७५ किलोमिटर ४०० मिटर दूरीमा रहेको उक्त खण्डमा ठूला चिरा परेपछि सवारीसाधनको आवागमन उच्च जोखिममा परेको छ। केही समयअघि सामान्य रूपमा ब्यारिकेड लगाइएको सडकखण्डमा अहिले नदीको कटानका कारण ठूलो क्षति पुगेको हो।
सुरुवाती चरणमा सामान्य समस्या देखिएको उक्त स्थानमा पछिल्लो समय त्रिशूली नदीले निरन्तर कटान गरेपछि सडकको स्वरूप नै बदलिएको छ। हाल सडकको ठूलो भाग भासिएर चर्किएको अवस्थामा रहेकाले सवारीसाधनको आवागमनमा थप चुनौती थपिएको छ।
सडक सुरक्षाका लागि राखिएका भौतिक अवरोधले समेत कटान रोक्न नसकेपछि सडकको जग कमजोर बनेको छ। सम्बन्धित प्राविधिक टोलीले उक्त सडकखण्डको निरीक्षण गरिरहेको छ।
कटानको दर र सडक भासिने क्रम नरोकिएमा राजमार्गको मुख्य यातायात प्रणाली नै अवरुद्ध हुन सक्ने जोखिम देखिएको छ। स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयले उक्त स्थानमा सावधानीपूर्वक सवारी चलाउन चालकहरूलाई आग्रह गरेका छन्।
