काठमाडौं । नेपालमा पछिल्ला दिनदेखि भइरहेको वर्षा अझै केही समय जारी रहने भएको छ। मौसमविद्हरूका अनुसार आगामी दुई दिन विशेषगरी देशको पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ।
बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै क्षेत्रमा वर्षा भइरहेको मौसमविद् राजन लामिछानेले जानकारी दिएका छन्।
उनका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ। केही क्षेत्रमा भने अत्यधिक वर्षा समेत मापन गरिएको छ। पाल्पास्थित अर्चले मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको उनले बताएका छन्।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो र तराईका विभिन्न स्थानमा डुबानको जोखिमसमेत बढेको मौसमविद्को भनाइ छ।
हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ आसपास केन्द्रित रहेको र क्रमशः नेपालतर्फ सर्ने क्रममा रहेको लामिछानेले बताएका छन्। यसको प्रभाव पश्चिमतर्फ विस्तार हुँदै जाने भएकाले आज र भोलि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा वर्षा बढी सक्रिय हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसको तुलनामा पूर्वी क्षेत्रमा भने वर्षाको गतिविधि विस्तारै कमजोर हुँदै मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमानअनुसार शनिबारसम्म न्यून चापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जानेछ। यस क्रममा लुम्बिनी र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि थप बढ्न सक्ने अनुमान गरिएको छ।
आइतबारदेखि पूर्वी भूभागमा मौसम सुधार हुने संकेत देखिए पनि पश्चिमी क्षेत्रमा प्रणालीको प्रभाव केही समय कायम रहन सक्नेछ। सोमबारदेखि भने देशका अधिकांश स्थानमा मौसम क्रमशः सफा हुँदै जाने र त्यसपछिका दिनमा वर्षाको प्रभाव थप घट्ने सम्भावना रहेको विभागको पूर्वानुमान छ।
मौसम प्रणालीमा परिवर्तन आउन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ। आवश्यकताअनुसार मौसमसम्बन्धी सूचना तथा चेतावनी अद्यावधिक गरिने विभागको भनाइ छ।
भारी वर्षा भइरहेका तथा जोखिमसम्बन्धी चेतावनी जारी भएका क्षेत्रमा बाढी, पहिरो र डुबानको सम्भावनालाई ध्यानमा राख्दै अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सर्वसाधारणलाई आग्रह गरेका छन्।
