काठमाडौं । नेपालमा औषधि पसल सञ्चालनका लागि आवश्यक दर्ता प्रमाणपत्र अरू व्यक्तिलाई प्रयोग गर्न दिने तथा एक व्यक्तिको नाममा दर्ता भएको फार्मेसी अर्को व्यक्तिले सञ्चालन गर्ने प्रवृत्ति अझै कायम रहेको सरोकारवालाले बताएका छन्।
फार्मेसीको संख्या र उपलब्ध दक्ष जनशक्तिबीचको अनुपात नमिलेका कारण पनि समस्या थपिएको उनीहरूको भनाइ छ। नेपाल फार्मेसी परिषद्को तथ्यांकअनुसार देशभर हाल ८ हजार ५६३ फर्मासिस्ट र १७ हजार ६९२ फार्मेसी सहायक दर्ता छन्।
उता, औषधि व्यवस्था विभागमा ३३ हजार २९९ औषधि विक्रेता दर्ता भएको तथ्यांक छ। तीमध्ये १५ हजार ३४ वटा मात्र नवीकरण भएको विभागको अभिलेखले देखाउँछ। नवीकरण नभएका वा दर्ताको अवस्था स्पष्ट नभएका फार्मेसीबाट समेत औषधि बिक्री हुने सम्भावनाले नियमनमा थप चुनौती सिर्जना गरेको सरोकारवालाको भनाइ छ।
दक्ष जनशक्तिको उपस्थितिमाथि प्रश्न
औषधि ऐन, २०३५ ले औषधि बिक्री तथा वितरणमा फर्मासिस्ट वा फार्मेसी सहायकको उपस्थितिलाई आवश्यक मानेको छ। तर, देशभर सञ्चालनमा रहेका औषधि पसलको संख्या र उपलब्ध फार्मेसी जनशक्तिको तथ्यांकबीच ठूलो अन्तर देखिन्छ।
यसै कारण दर्ता प्रमाणपत्र एक व्यक्तिको नाममा रहे पनि वास्तविक रूपमा अर्कै व्यक्तिले व्यवसाय सञ्चालन गर्ने अवस्था देखिएको बताइएको छ। यस्तो अभ्यासले औषधि बिक्रीको जिम्मेवारी कसले लिएको हो भन्ने विषयमा समेत प्रश्न उठाउने गरेको छ।
नेपाल फार्मेसी परिषद्का अनुसार विगतमा प्राविधिक जनशक्तिको कमी, व्यवसायी प्रमाणपत्रमा आधारित सञ्चालन तथा प्रमाणपत्र दोहोरो प्रयोगजस्ता कारणले पनि तथ्यांक व्यवस्थापनमा समस्या आएको थियो।
परिषद्का रजिष्ट्रार हरिश सिंह थापाका अनुसार अहिले परिषद् र औषधि व्यवस्था विभागबीच सहकार्य गरेर फार्मेसी क्षेत्रको विवरण व्यवस्थित गर्ने काम भइरहेको छ।
उनका अनुसार फार्मेसीसम्बन्धी जनशक्तिको संख्या बढ्दै गएकाले बजारको माग पूरा गर्ने अवस्था विस्तार हुँदैछ। यही अवस्थालाई उपयोग गर्दै देशभरका फार्मेसी जनशक्तिको अभिलेख अद्यावधिक गर्ने, प्रणालीलाई डिजिटल बनाउने र दर्ता नभएका वा नियमविपरीत सञ्चालन भइरहेका व्यवसायलाई नियमन गर्ने काम अघि बढाइएको छ।
कानुन संशोधनको माग
सरोकारवालाले औषधि ऐन, २०३५ लगायतका विद्यमान कानुनी व्यवस्थालाई समयअनुकूल बनाउनुपर्ने बताएका छन्। विशेषगरी ‘सामुदायिक फार्मेसी’को स्पष्ट कानुनी परिभाषा आवश्यक रहेको उनीहरूको भनाइ छ।
स्वास्थ्य संस्थामा फर्मासिस्टको दरबन्दी बढाउनुपर्ने, फार्मेसी जनशक्तिको जिम्मेवारी स्पष्ट गर्नुपर्ने तथा औषधि पसलको प्रभावकारी अनुगमन गर्नुपर्ने सुझाव पनि अघि सारिएको छ।
नेपालजस्तो मुलुकमा नागरिकले स्वास्थ्यसम्बन्धी सेवा लिन सबैभन्दा पहिले पुग्ने स्थानमध्ये सामुदायिक फार्मेसी पनि महत्वपूर्ण हुने भएकाले त्यहाँ दक्ष जनशक्तिको उपस्थिति सुनिश्चित गर्नुपर्ने सरोकारवालाको धारणा छ।
औषधिको सुरक्षित प्रयोगमा फर्मासिस्टको भूमिका
चिकित्सक तथा फार्मेसी क्षेत्रका जानकारहरूका अनुसार औषधिको सही मात्रा, प्रयोग गर्ने तरिका, सम्भावित असर र अन्य औषधिसँगको अन्तरक्रियाबारे बिरामीलाई जानकारी दिन फर्मासिस्टको भूमिका महत्वपूर्ण हुन्छ।
गलत तरिकाले औषधि प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले औषधि बिक्रीसँगै बिरामीलाई आवश्यक परामर्श दिने व्यवस्था प्रभावकारी हुनुपर्ने उनीहरूको भनाइ छ।
नेपाल फार्मेसी परिषद्का पूर्वरजिष्ट्रार सञ्जीव पाण्डेले बदलिँदो स्वास्थ्य चुनौतीका बीच दक्ष फार्मेसी जनशक्तिको भूमिका थप महत्वपूर्ण हुँदै गएको बताएका छन्। नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न फार्मेसी सेवालाई व्यवस्थित र व्यावसायिक बनाउन आवश्यक रहेको उनको भनाइ छ।
प्रमाणपत्रको दुरुपयोग रोक्न परिषद्को प्रयास
फार्मेसीको दर्ता प्रमाणपत्र अरूलाई प्रयोग गर्न नदिन परिषद्ले फार्मासिस्टहरूलाई आग्रह गर्दै आएको छ। परिषद्ले आफ्नो डिजिटल प्रणालीमार्फत सम्बन्धित फार्मेसीमा दर्तावाल जनशक्तिको उपस्थिति तथा विवरण पहिचान गर्न सकिने व्यवस्था विकास गरिएको जनाएको छ।
परिषद्ले पुराना अभिलेख डिजिटल बनाउने, अनलाइन प्रमाणपत्र प्रमाणीकरण तथा बारकोडसहित प्रमाणपत्र जारी गर्ने काम अघि बढाएको छ। नाम दर्ता नवीकरण, गुड स्ट्यान्डिङ प्रमाणपत्र लगायतका केही सेवा पनि अनलाइनबाट उपलब्ध गराइएको परिषद्को भनाइ छ।
फार्मेसी क्षेत्रमा व्यावसायिक जिम्मेवारी आफैं निर्वाह गर्न तथा आफ्नो नाममा जारी प्रमाणपत्र अरूलाई प्रयोग गर्न नदिन परिषद्ले सम्बन्धित जनशक्तिलाई आग्रह गरेको छ। उपभोक्तालाई पनि दर्तावाल फार्मेसी जनशक्तिबाट मात्र औषधि तथा परामर्श लिन अनुरोध गरिएको छ।
औषधि उत्पादनतर्फ पनि नियमनको आवश्यकता
औषधि बिक्री मात्र नभई उत्पादनतर्फ समेत कानुनी मापदण्डको पूर्ण कार्यान्वयन चुनौतीका रूपमा देखिएको छ।
औषधि उत्पादन कुशल अभ्यास संहिता, २०७२ अनुसार उत्पादकले आवश्यक प्रमाणपत्रका लागि औषधि व्यवस्था विभागमा प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ। विभागको अभिलेखअनुसार औषधि उत्पादन तथा बजारीकरण गरिरहेका ८४ उत्पादकमध्ये ५५ वटाले मात्र राष्ट्रिय कुशल अभ्याससम्बन्धी प्रमाणपत्र प्राप्त गरेको उल्लेख गरिएको छ।
बाँकी उत्पादकलाई पनि निर्धारित मापदण्डभित्र ल्याएर औषधिको उत्पादन र वितरण प्रणालीलाई थप सुरक्षित बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले दक्ष फर्मासिस्टलाई सुरक्षित औषधि प्रणालीको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेका छन्। गुणस्तरीय औषधिको पहुँच, बिरामीको सुरक्षा र औषधिको प्रभावकारी प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
उनले डिजिटल हेल्थ, आर्टिफिसियल इन्टेलिजेन्स, टेलिफार्मेसी तथा क्लिनिकल फार्मेसीजस्ता नयाँ अभ्यासलाई उपयोग गर्दै फार्मेसी क्षेत्रलाई आधुनिक बनाउनुपर्नेमा जोड दिएका छन्।
नक्कली तथा कम गुणस्तरका औषधि नियन्त्रण र एन्टिमाइक्रोबियल रेसिस्टेन्सजस्ता चुनौती सामना गर्न सरकारी नियामक निकाय, औषधि उद्योग, अस्पताल तथा शैक्षिक संस्थाबीच समन्वय आवश्यक रहेको विभागको भनाइ छ।
फार्मासिस्ट दिवसमा पेशागत सशक्तीकरणको सन्देश
‘स्वस्थ भविष्यका लागि फर्मासिस्टहरूलाई सशक्त बनाऔँ’ भन्ने अन्तर्राष्ट्रिय नारासहित आज देशभर फार्मासिस्ट दिवस मनाइँदैछ।
यस अवसरमा फार्मेसी सेवालाई थप व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन दक्ष जनशक्तिको उचित उपयोग, प्रभावकारी अनुगमन र समयअनुकूल कानुनी सुधार आवश्यक रहेको विषयलाई प्राथमिकताका साथ उठाइएको छ।
