काठमाडौं । बाढीमा परी घाइते भएका २४ जनालाई उपचारका लागि रसुवा अस्पताल लगिएको छ। उपचाररत घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर अवस्थामा रहेका छन्।
रसुवा अस्पतालका सूचना अधिकारी नरेन्द्र थापाले बाढीमा परी घाइते भएका २४ जना उपचारका लागि अस्पताल आइपुगेको बताएका छन्। उनले उपचाररत एक जना घाइतेको मृत्यु भएको पुष्टि गरेका छन्।
थापाका अनुसार घाइतेमध्ये केहीलाई सामान्य चोटपटक लागेको छ। ६ जना गम्भीर अवस्थाका बिरामीलाई भने थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ।
‘गम्भीर प्रकृतिका ६ जना घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ। सामान्य अवस्थाका केही बिरामीलाई पनि आवश्यक उपचारपछि रेफर गरिएको छ,’ थापाले भने।
बाढी प्रभावित क्षेत्रबाट घाइतेहरू आउने क्रम जारी रहेकाले अस्पतालले उपचार तथा उद्धारका लागि उपलब्ध जनशक्ति र स्रोतसाधन परिचालन गरिरहेको थापाले बताएका छन्।
हेलिकोप्टरमार्फत समेत घाइतेको उद्धार भइरहेको उनले जानकारी दिएका छन्।
