भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका मेकानिकल सुपरभाइजर कवीर महर्जन स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मृत्युलाई नजिकबाट देखेर १० दिनपछि सकुशल उद्धार गरिएका महर्जनले आफ्नो जीवनको कठिनतम समयको अनुभव बाँड्दै सुरुङभित्रको त्यो भयानक संघर्षबारे सुनाएका छन् ।
भदौ १० गते बिहान आयोजनाको कन्ट्रोल रुममा काम गरिरहेका बेला महर्जन र उनका सहकर्मी सञ्जय साह अचानक आएको बाढीको चपेटामा परेका थिए । सीसीटीभी फुटेजमा बाढीको संकेत देखेपछि हात समातेर बाहिर निस्कने उनीहरूको प्रयास पानीको तीव्र बहावका कारण विफल भयो र दुवै जना सुरुङभित्र अलग–अलग स्थानमा फसेका थिए ।
उद्धारपछि घर फर्किएका महर्जनले लामो समयसम्म अन्धकारमा बस्दा आफू सुरुङभित्र फसेको कुरा समेत बिर्सिसकेको बताए ।
‘त्यहाँ मलाई निन्द्रा लाग्ने र ब्युँझिने क्रम चलिरह्यो । सुरुङभित्र बाहिरको संसारबाट पूर्णतः विच्छेद भएको महसुस हुन्थ्यो,’ उनले भने ।
६–७ वर्षदेखि सोही आयोजनामा कार्यरत रहेकाले आफू रहेको स्थानसम्म पानी नआउनेमा उनी विश्वस्त थिए । जसले गर्दा उनलाई बाँच्न थप हौसला मिलेको थियो ।
अन्ततः १० दिनपछि टाढाबाट बलेको बत्ती र उद्धारकर्ताहरूको आवाज सुन्दा महर्जनले आफू जीवित रहेको महसुस गरे ।
उनले सम्झिए, ‘सुरुमा भ्रम हो कि जस्तो लाग्यो, तर पछि मान्छेको आवाज भएको पक्का भएपछि आवाज दिएँ ।’
उद्धार टोलीले पहिला सहकर्मी सञ्जय साहलाई र त्यसपछि महर्जनलाई उद्धार गरेको थियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि महर्जनले आफ्नो उद्धारका लागि खटिने नेपाली सेना, नेपाल प्रहरी र सरोकारवाला निकायप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनी हाल शारीरिक रूपमा स्वस्थ भए पनि मानसिक आघातबाट पार पाउन ‘थेरापी’ लिइरहेका छन् ।
परिवारसँगको पुनर्मिलनलाई उनले आफ्नो जीवनको सबैभन्दा ठूलो खुसीको क्षण भएको बताएका छन् ।
