नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ।
सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा आगामी चाडपर्वमा यात्रु ठगिन नपाऊन् र सवारी दुर्घटना न्यूनीकरण होस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिइएको हो।
प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल जंग शाहले टिकटमा हुने कालोबजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति रोक्न प्रहरीले विशेष निगरानी बढाउने जानकारी दिए।
डीएसपी शाहका अनुसार सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहनेछ। भाडादरसम्बन्धी विवाद तत्काल समाधान गर्न यातायात व्यवस्था विभागका प्रतिनिधिलाई पनि सहायता कक्षमा सहभागी गराउने प्रस्ताव गरिएको उनले बताए।
सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिनेछ, जसले यात्रु र यातायात व्यवसायीबीच हुने विवाद कम गर्ने अपेक्षा गरिएको छ।
टिकट बुकिङलाई थप व्यवस्थित र विश्वसनीय बनाउन काउन्टरमा बस्ने कर्मचारीको आधिकारिक परिचयपत्र अनिवार्य हुनुपर्नेमा उनले जोड दिए। यसले टिकट काट्ने व्यक्ति कुन समितिसँग आबद्ध छ भन्ने स्पष्ट हुने र कुनै समस्या आएमा अनुगमन गर्न सहज हुने प्रहरीको भनाइ छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ‘क्यू–फ्री’ प्रणालीमा परिवर्तनको खाँचो औँल्याउँदै शाहले सम्बन्धित रुटमा नियमित रूपमा चल्ने चालकलाई मात्र सोही रुटमा खटाउन सुझाव दिए। अपरिचित मार्गमा नयाँ चालक पठाउँदा सडकका खाल्डाखुल्डी, घुम्ती तथा जोखिमयुक्त स्थानबारे पर्याप्त जानकारी नहुँदा दुर्घटनाको सम्भावना बढ्ने उनले बताए।
उनले बढी भाडा असुल्ने, टिकटबिना यात्रु बोक्ने वा एउटै सिटको टिकट दुई–तीन जनालाई बिक्री गर्ने जस्ता समस्या नियन्त्रण गर्न नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिने बताए।
सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागका प्रतिनिधि रहने व्यवस्था भए यात्रुका समस्या तत्काल समाधान गर्न सहज हुने उनले बताए। सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिएमा यात्रु र यातायात व्यवसायीबीच हुने विवाद पनि कम हुने उनको भनाइ थियो।
टिकट काट्ने व्यक्तिको परिचयपत्र र सम्बन्धित समितिको विवरण स्पष्ट हुने व्यवस्था गरिएमा ट्राफिक प्रहरीलाई समेत अनुगमन गर्न सहज हुने उनले बताए।
दुर्घटना न्यूनीकरणका लागि क्यू–फ्री प्रणाली लागू गर्दा सम्बन्धित गन्तव्यमा नियमित चल्ने बसलाई नै प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। उदाहरण दिँदै उनले झापा जाने बसलाई झापाकै रुटमा र पोखरा जाने बसलाई पोखराकै रुटमा सञ्चालन गर्दा चालकलाई बाटोको अवस्था, घुम्ती तथा जोखिमयुक्त स्थानबारे राम्रो जानकारी हुने र दुर्घटनाको जोखिम कम गर्न सकिने बताए।
दसैँको समयमा सबैभन्दा बढी जाम हुने कलंकी–नागढुंगा खण्डमा उपलब्ध जनशक्तिलाई अधिकतम रूपमा परिचालन गरी ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइने उनले बताए।
दसैँको समयमा सबैभन्दा बढी सवारी चाप हुने कलंकी–नागढुंगा खण्डलाई लक्षित गर्दै प्रहरीले विशेष रणनीति तयार पारेको छ। चाडपर्वको चार दिनअघिदेखि हुने अत्यधिक ट्राफिक दबाब व्यवस्थापन गर्न उपलब्ध जनशक्तिलाई अधिकतम रूपमा परिचालन गरिने प्रतिबद्धता पनि उनले जनाए।
