नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले देशका विभिन्न स्थानमा भइरहेको प्राकृतिक विपद्को क्षतिप्रति दुःख व्यक्त गर्दै प्रहरीको पछिल्लो पक्राउ शैलीप्रति सरकारको आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद बरालले कर्णाली लगायतका क्षेत्रमा प्राकृतिक विपद्बाट भएको धनजनको क्षतिप्रति गहिरो श्रद्धाञ्जली र समवेदना व्यक्त गरेका छन् । उनले सरकारको सुरक्षा संयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् । सुतकै घरबाट नागरिकलाई ‘अपहरण शैली’मा पक्राउ गर्ने र पर्याप्त प्रमाणबिना केही दिनमै छोड्ने सरकारी संयन्त्रको कार्यशैलीमाथि उनले आपत्ति जनाएका छन् ।
उनले प्रश्न गर्दै भने, ‘राज्यले अपहरण शैलीमा नागरिक सुतकै ठाउँमा गएर पक्राउ गर्ने, अनि १२ दिन नपुग्दै बिनाप्रमाण जेलमा राखेर बाहिर ल्याउने ? यो अहिलेको सुशासन हो कि निरंकुशता ? यदि नागरिक दोषी नै हुन् भने किन पक्राउ गरिन्छ ? अनि किन छोडिन्छ ? यो के शैली हो? मलाई यसको जवाफ चाहिन्छ ।’
सांसद बरालले यस्तो कार्यशैलीले आम नागरिकमा त्रास फैलाएको भन्दै आफूलाई पनि ‘सुतकै ठाउँमा सरकार पक्राउ गर्न आउँछ कि’ भन्ने डर लाग्न थालेको टिप्पणी गरेका छन् । उनले सरकारको यस्तो क्रियाकलापप्रति प्रधानमन्त्री र गृहमन्त्रीको स्पष्ट धारणा माग गरेका छन् ।
