काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नेपाल प्रहरीका परिवारलाई लक्षित गर्दै नेपाल प्रहरीले शिक्षा, सीप विकास र रोजगारीसम्बन्धी सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
नेपाल प्रहरीको नीति निर्माण समितिको सोमबार बसेको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको हो।
गत भदौ १० गते रसुवामा भोटेकोशी नदीमा आएको बाढीका क्रममा कर्तव्यमा खटिएका प्रहरी कर्मचारी तथा उनीहरूका परिवार प्रभावित भएका थिए। सोही घटनाबाट प्रभावित परिवारको दीर्घकालीन सहयोगका लागि प्रहरी संगठनले विशेष कार्यक्रम अघि बढाएको जनाएको छ।
सीप तालिमसँगै रोजगारीको व्यवस्था
शिक्षाका अतिरिक्त प्रभावित प्रहरी परिवारका सदस्यलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।
तालिमपछि उनीहरूको क्षमता र आवश्यकताअनुसार रोजगारीको अवसर उपलब्ध गराउने व्यवस्था मिलाइने नेपाल प्रहरीले जनाएको छ। यसबाट प्रभावित परिवारको जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल प्रहरीका अनुसार जोखिमपूर्ण परिस्थितिमा पनि राष्ट्र तथा नागरिकको सुरक्षाका लागि जिम्मेवारी निर्वाह गर्ने प्रहरी कर्मचारी र उनीहरूका परिवारको योगदानलाई ध्यानमा राख्दै यस्तो सहयोगको निर्णय गरिएको हो।
बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकतासँगै दीर्घकालीन पुनःस्थापना र जीविकोपार्जनलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइने प्रहरीले जनाएको छ।
