मनाङस्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार अभियान तत्कालका लागि रोकिएको छ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार घटनापछि ४ जनाको शव फेला परिसकेको छ भने अझै १२ जना कुक तथा सहयोगी कर्मचारी सम्पर्कविहीन छन्।
हिमपहिरोपछि एसोसिएसनको समन्वयमा अनुभवी उद्धारकर्मीको टोली घटनास्थलमा पुगेको थियो। प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाबीच टोलीले खोजी अभियान सञ्चालन गरेको जनाइएको छ।
विशाल हिमपहिरोका कारण हिमलुङ आधार शिविरमा करिब १४ फिटसम्म हिउँ जमेको एसोसिएसनले जनाएको छ। मिङ्मा जीको नेतृत्वमा ८ सदस्यीय उद्धार टोलीले जोखिमका बीच खोजी कार्य अघि बढाएको थियो।
हाल तत्काल जीवित व्यक्ति फेला पार्ने सम्भावना न्यून देखिएपछि अभियान अस्थायी रूपमा स्थगित गरिएको हो। मौसम तथा हिमपहाडको अवस्था अनुकूल भएपछि जमेको हिउँ हटाउने र थप खोजी गर्ने काम पुनः सुरु गरिने एसोसिएसनले जनाएको छ।
