बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अन्य प्रदेशसँग सहयोग र सहकार्यको प्रस्ताव गरिएको बताएका छन्।
जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले बागमती प्रदेशमा परेको विपत्तिपछि पुनर्निर्माणको काममा देशका अन्य प्रदेशको साथ आवश्यक रहेको बताए। उनका अनुसार एक प्रदेशमा ठूलो विपत्ति आउँदा अन्य प्रदेशले समेत सहयोग गर्ने अवधारणाका साथ सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरिएको छ।
उनले आगामी असोज २१, २२ र २३ गते सातवटै प्रदेशका मुख्यमन्त्री सहभागी हुने बैठकमा बागमती प्रदेशका तर्फबाट पुनर्निर्माण तथा पूर्वाधार विकासका विषयमा प्रस्ताव राखिने जानकारी दिए।
१५ पालिका प्रत्यक्ष प्रभावित
मुख्यमन्त्री थापामगरका अनुसार बाढी तथा विपद्का कारण बागमती प्रदेशका १५ वटा स्थानीय तह प्रभावित भएका छन्। प्रदेश सरकारले प्रभावित क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने तयारी गरिरहेको उनले बताए।
प्रभावित पालिकाबाहेक प्रदेशका अन्य १०४ स्थानीय तहलाई समेत पुनर्निर्माण अभियानमा सहयोग गर्न आग्रह गरिएको उनको भनाइ छ।
चितवनका सातवटै स्थानीय तहले पनि प्रभावित क्षेत्रमा कम्तीमा एउटा महत्वपूर्ण पुनर्निर्माण परियोजना अघि बढाउने अपेक्षा मुख्यमन्त्रीले व्यक्त गरे।
तीन तहका सरकार मिलेर पुनर्निर्माण गर्ने
स्थानीय तहले प्रभावित परिवारलाई अस्थायी रूपमा बसोबास गराउन उपयुक्त स्थान पहिचान गरेपछि स्थायी पुनर्निर्माणका काम अघि बढाइने उनले बताए।
नयाँ बस्ती वा पुनर्वास क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण, खानेपानीको व्यवस्था, स्वास्थ्यचौकी तथा अस्पताल निर्माणजस्ता काममा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको मुख्यमन्त्री थापामगरले बताए।
प्रदेश सरकार पुनर्निर्माण अभियानमा सक्रिय रूपमा अघि बढ्ने उल्लेख गर्दै उनले विपद्पछि प्रभावित क्षेत्रलाई पुनःस्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
