काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीका नेताहरूले विभिन्न पदमा आफ्नो दाबी सार्वजनिक गर्न थालेका छन्। यसै क्रममा केन्द्रीय कार्यसम्पादन समिति सदस्य आङगेलु शेर्पाले महामन्त्री र केन्द्रीय सदस्य प्रतिमा गौतमले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
गौतमले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन्। उनले आफ्नो राजनीतिक यात्राको मूल आधारका रूपमा ‘संघर्ष, सेवा र इमान्दारिता’लाई अघि सारेकी छन्।
प्रतिनिधिसभा सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेकी गौतम १४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। विद्यार्थी राजनीतिबाट पार्टीमा सक्रिय भएकी उनले पद्मकन्या क्याम्पसको स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्। विशेष महाधिवेशनबाट पनि उनी पार्टीको सदस्यमा चयन भएकी थिइन्।
यता आङगेलु शेर्पाले आफ्नो गृहजिल्ला सोलुखुम्बुमा आयोजित कांग्रेसको कार्यक्रममा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्। पार्टीको संगठनलाई अझ सक्रिय र सुदृढ बनाउने उद्देश्यसहित आफूले महामन्त्रीमा दाबी गरेको उनले बताएका छन्।
शेर्पा यसअघि नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला सभापति भइसकेका छन्। १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका उनी पछिल्लो समय पार्टीभित्रको विशेष महाधिवेशनसम्बन्धी गतिविधिमा समेत सक्रिय रहेका थिए।
कांग्रेसको १५औँ महाधिवेशनका लागि विभिन्न तहका अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। पार्टीको निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म आयोजना गर्ने तय गरिएको छ।
महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री र सहमहामन्त्रीसहित विभिन्न पदमा आकांक्षी नेताहरूले आफ्नो दाबी सार्वजनिक गर्ने क्रम बढेको छ। यसअघि महामन्त्री पदमा रञ्जित कर्ण तथा अन्य नेताहरूले पनि उम्मेदवारीका लागि आफ्नो तयारीबारे धारणा सार्वजनिक गरिसकेका छन्। सहमहामन्त्री पदमा उदयशमशेर राणा र पार्टी प्रवक्ता देवराज चालिसेलगायतका नेताहरूको नाम पनि चर्चामा छ।
