नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको सय दिनको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै सुशासनको नारा केवल भ्रममा सीमित भएको टिप्पणी गरेका छन्।
मंगलवार संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले चमत्कार गर्ने दाबी गरे पनि जनताले आधारभूत सेवा पाउनसमेत सास्ती भोग्नुपरेको आरोप लगाए। प्रमुख सचेतक दुलालले सरकार बनेको समयावधिभन्दा पनि परिणामलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले मन्त्रालयमा जम्बो सचिवालय र सल्लाहकारहरूको भर्तीलाई समेत औचित्यहीन कदम भन्दै आलोचना गरे। विगतका काण्डहरू छानबिन गर्न दुई तिहाइको सरकारलाई कसले रोकेको छ भन्दै उनले प्रश्न गरे।
उनले भने, ‘जनताले विश्वास गरेर सुशासनका लागि मत दिएका थिए, तर आज नागरिकहरू ग्यास, अस्पताल र पासपोर्टका लागि लाइन बस्न बाध्य छन्। कानूनी राज्यमा कसैलाई पक्राउ गर्दा कारणसहितको पुर्जी चाहिन्छ। सरकारका मन्त्री र प्रधानमन्त्रीले जोशको पछि लाग्दा होस गुमाउनु भएन। मध्यरातमा गरिने गिरफ्तारीले गैरकानूनी बाटो समातेको पुष्टि हुन्छ।’
आफ्नो दलमाथि लाग्ने आरोपको खण्डन गर्दै उनले आफूहरू सुशासनको लडाइँ लडिरहेको बताए।
