नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार समिति सभापति प्रियराज रेग्मीले पुँजी बजारमा देखिएका समस्या समाधान तथा नीतिगत सुधारको प्रभावकारी कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने बताएका छन्।
बुधवार अर्थ समितिमा भएको पुँजी बजारसम्बन्धी छलफलमा उनले नेप्सेमा रणनीतिक साझेदार भित्र्याउनु पुँजी बजार सुधारको पूर्वसर्तजस्तै रहेको बताएका हुन्। उनले रणनीतिक साझेदारबिना सरकारले घोषणा गरेका कार्यक्रम तथा नेपाल धितोपत्र बोर्डले अघि सारेका नीतिगत सुधार कार्यान्वयन गर्न कठिन हुने बताएका छन्।
पुँजी बजारका ब्रोकर, मर्चेन्ट बैंकरलगायत व्यवसायीहरूको स्तरीकरण तथा मानकीकरण गर्नुपर्नेमा जोड दिँदै रेग्मीले सुधार प्रक्रियामा उनीहरूको पनि सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। उनका अनुसार सामाजिक सञ्जालमार्फत हुने अनियन्त्रित सूचना प्रवाह र निःशुल्क परामर्शका नाममा फैलाइने भ्रमले पुँजी बजारलाई प्रभावित गरिरहेको छ। त्यसैले सामाजिक सञ्जालबाट हुने गलत सूचना प्रवाहलाई नियमन गर्न आवश्यक रहेको उनले बताएका छन्।
रेग्मीले बुक बिल्डिङ प्रणालीमार्फत आईपीओ निष्कासन प्रक्रियालाई प्रभावकारी बनाउन संस्थागत लगानीकर्ताको संख्या र भूमिका बढाउनुपर्ने बताएका छन्। संस्थागत लगानीकर्तालाई बजारको चालक बनाउँदै व्यक्तिगत लगानीकर्ताको हित संरक्षण गर्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
संस्थागत लगानीकर्ताको सहभागिता बढाउन करसम्बन्धी व्यवस्था पनि सुधार गर्नुपर्ने उनले बताएका छन्। उनका अनुसार व्यक्तिगत र संस्थागत लगानीकर्ताले तिर्नुपर्ने करको दरमा रहेको भिन्नताले संस्थागत लगानीलाई निरुत्साहित गरेको छ। संस्थागत लगानीकर्तामाथिको करको भार घटाउनुपर्ने उनले बताएका छन्।
व्यक्तिगत रूपमा कारोबार गर्दा पाँच प्रतिशत कर तिर्नुपर्ने अवस्थामा संस्थागत रूपमा लगानी गर्दा ३० प्रतिशत कर तिर्नुपर्ने भएपछि संस्थागत लगानीकर्ता निरुत्साहित हुने उनको भनाइ छ। संस्थागत लगानीकर्ताको सहभागिता कमजोर हुँदा बजार व्यक्तिगत लगानीकर्ताले मात्रै सञ्चालन गर्ने अवस्था रहने र त्यसले बजारमा अस्थिरता कायम रहन सक्ने उनले बताएका छन्।
रेग्मीले नेप्सेको बजार पुँजीकरण तथा सूचक गणना प्रणालीमा पनि सुधार गर्नुपर्ने बताएका छन्। बजारको वास्तविक अवस्थालाई प्रतिबिम्बित गर्न सूचक गणना गर्दा कारोबारका लागि उपलब्ध फ्लोट शेयरलाई आधार बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
सभापति रेग्मीले भने, ‘नेपाल सरकारले घोषणा गरेका कार्यक्रम तथा धितोपत्र बोर्डले सुधार गरेका वा सुधार तथा परिमार्जन गर्न लागेका नीति–नियम कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नु पूर्वसर्तजस्तै देखिन्छ। अन्यथा, यी सुधार कार्यान्वयन गर्न सहज हुँदैन।
यसलाई सहयोग गर्न ब्रोकर, मर्चेन्ट बैंकरलगायत पुँजी बजारका व्यवसायीहरूको स्तरीकरण र मानकीकरण गर्नुपर्छ। उनीहरूलाई निश्चित मापदण्डमा आबद्ध गरी सुधार प्रक्रियामा सहभागी गराउनुपर्छ। मैले यहाँ ऐन तथा कानुन निर्माणका विषयमा प्रवेश गरेको छैन। अहिले देखिएका समस्यामा कहाँ–कहाँ सुधार गर्दा बजारलाई राम्रो बनाउन सकिन्छ भन्ने विषयमा मात्रै केन्द्रित भएको छु।
अहिले सामाजिक सञ्जाल नियमनमा छैन। त्यसले बजारमा धेरै भ्रम सिर्जना गरेको छ। निःशुल्क परामर्श दिने नाममा गलत सूचना प्रवाह गर्ने प्रवृत्तिले पनि बजारलाई प्रभावित गरिरहेको छ।
त्यसैगरी, हामीले आईपीओ निष्कासन प्रक्रियालाई बुक बिल्डिङमार्फत अगाडि बढाउने भनिरहेका छौँ। तर, संस्थागत लगानीकर्ताको संख्या निकै कम छ। उनीहरूको भूमिका बढाउन आवश्यक छ। लामो समयदेखि संस्थागत लगानीकर्तालाई बजारको चालक बनाउने र व्यक्तिगत लगानीकर्तालाई संरक्षण गर्ने अवधारणा अघि सारिएको छ।
व्यक्तिगत लगानीकर्ताले संस्थागत लगानीकर्ताको गतिविधि र निर्णयका आधारमा बजारको विश्लेषण गर्न सक्ने वातावरण बनाउनुपर्छ। तर, विभिन्न कारणले संस्थागत लगानीकर्ताको सहभागिता खुम्च्याइएको छ र उनीहरूको प्रवेशमा अवरोध सिर्जना भएको छ।
त्यसमध्ये करसम्बन्धी व्यवस्था पनि एउटा प्रमुख बाधा हो। अहिले व्यक्तिगत लगानीकर्ताले कारोबार गर्दा पुँजीगत लाभकरको दर ३.७५ प्रतिशतसम्म पुगेको छ। तर, संस्थागत लगानीकर्ताले वार्षिक रूपमा तिर्नुपर्ने कर २५ प्रतिशत हो वा ३० प्रतिशत भन्ने विषयमा विवाद छ। संस्थागत लगानीकर्ताका लागि करको दर उल्लेख्य रूपमा घटाउन आवश्यक छ।
व्यक्तिगत रूपमा कारोबार गर्दा पाँच प्रतिशत कर तिर्नुपर्ने अवस्थामा संस्थागत रूपमा लगानी गर्दा ३० प्रतिशत कर तिर्नुपर्ने हो भने संस्थागत लगानीकर्ता किन आकर्षित हुन्छन्? संस्थागत लगानीकर्ताको सहभागिता नबढेसम्म व्यक्तिगत लगानीकर्ताले मात्रै बजार सञ्चालन गर्ने अवस्था रहन्छ। यस्तो अवस्थामा बजारमा अस्थिरता कायम रहन सक्छ। बजार घटेपछि त्यसबारे चिन्ता र चर्चा गर्ने प्रवृत्ति पनि दोहोरिइरहन्छ।
त्यसैगरी, नेप्सेको बजार पुँजीकरण र सूचक गणना प्रणालीमा पनि सुधार आवश्यक छ। सूचक गणना गर्दा फ्लोट शेयर अर्थात् बजारमा कारोबारका लागि उपलब्ध शेयरका आधारलाई प्राथमिकता दिनुपर्छ। सूचकलाई थप व्यवस्थित र बजारको वास्तविक अवस्थालाई प्रतिबिम्बित गर्ने बनाउन आवश्यक छ।’
रेग्मीका अनुसार पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नेप्सेको संरचनागत सुधार, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, व्यवसायीहरूको मानकीकरण र बजारसम्बन्धी सूचना प्रवाहको नियमनलाई प्राथमिकता दिन आवश्यक छ।
