काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बीचमै छाडेकी छन्।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका कैदीबन्दी र थुनुवाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल भइरहेको थियो। छलफलका क्रममा असहमति जनाउँदै सांसद सिद्धिकी बैठकबाट बाहिरिएकी हुन्।
सिद्धिकीका अनुसार बैठकको वातावरण सभापतिले प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेको र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद स्मृति सेञ्चुरीले आफूलाई लक्षित गरी आपत्तिजनक अभिव्यक्ति दिँदा पनि सभापतिले रोक्न पहल नगरेको भन्दै उनले बैठक बहिष्कार गरेकी हुन्।
उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएका केही विषयप्रति पनि सिद्धिकीले आपत्ति जनाएकी थिइन्। विशेषगरी जेनजी आन्दोलनका क्रममा गम्भीर अपराधमा संलग्न नभएका व्यक्तिलाई प्रक्रिया पूरा गरेर थुनामुक्त गर्ने प्रस्तावप्रति उनले प्रश्न उठाएकी छन्।
उनको धारणा अनुसार अपराधको प्रकृति हेरेर कानुनी कारबाहीको स्पष्ट व्यवस्था हुनुपर्ने र सामान्य सजाय तोकेर वा कुनै कारबाहीबिनै रिहा गर्ने विषयले भविष्यमा थप समस्या निम्त्याउन सक्ने अवस्था रहन्छ।
यसैगरी सहकारी ठगीमा संलग्न व्यक्तिलाई जेलबाहिर राखेर पीडितको रकम फिर्ता गराउने प्रस्तावप्रति पनि सिद्धिकीले असहमति व्यक्त गरेकी छन्। उनले आर्थिक अपराधमा संलग्न व्यक्तिको हकमा कानुनी प्रक्रिया र जिम्मेवारी स्पष्ट हुनुपर्ने धारणा राखेकी थिइन्।
कैदीबन्दीमध्येबाटै कारागारको नाइके तोक्ने विषयमा समेत उनको आपत्ति रहेको छ। कारागार व्यवस्थापन र कैदीबन्दीको जिम्मेवारीसँग सम्बन्धित उक्त व्यवस्थाबारे उनले प्रतिवेदनमा पुनर्विचार आवश्यक रहेको धारणा राखेकी हुन्।
बैठकमा आफ्ना असहमति राखेपछि सिद्धिकी बैठकबाट बाहिरिएकी हुन्। उनका अनुसार आफूले बैठक बहिष्कार गर्नुको मुख्य कारण समितिमा छलफल भइरहेका विषयमा रहेको असहमति र बैठक सञ्चालनको शैली हो।
