काठमाडौं, १४ असोज । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालेन्द्र शाह बालेन नेतृत्वको सरकारलाई ‘केही आशंकासहितको आशा’ भनी समीक्षा गरेका छन् ।
सरकार गठन भएको ६ महिनाको समीक्षा गर्दै भट्टराईले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत बिल्कुलै नयाँ पृष्ठभूमिबाट आएको युवा बाहुल्य सरकारलाई जटिल राजकाजका कुनाकन्तरा छाम्न र सिक्न केही समय लाग्नु पनि स्वाभाविकै भएको टिप्पणी गरेका छन् ।
‘नयाँ सरकारको ६ महिनाको मूल्यांकन ‘केही आशंकासहितको आशा’ जस्तो रहेको बढी अनुभूत हुन्छ। बिल्कुलै नयाँ पृष्ठभूमिबाट आएको युवा बाहुल्य सरकारलाई जटिल राजकाजका कुनाकन्तरा छाम्न र सिक्न केही समय लाग्नु पनि स्वाभाविकै हुन्,’ बाबुरामले भनेका छन् ।
तर अब सरकारको मुख्य परीक्षा तीव्र आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको मुद्दामै हुने भट्टराईको भनाइ छ ।
‘अब पनि दशकौंदेखिको कछुवा गतिको ‘बयलगाडे विकास’ ले मात्र रोजगारीको खोजीमा विदेशिन बाध्य पचासौं लाख युवाहरूको चुलिंदो आकांक्षालाई सम्बोधन गर्न सक्नेछैन ।
त्यसनिम्ति केही दशकसम्म बृहत् रोजगारी सहितको दुई अंकको आर्थिक वृद्धिदर हासिल गरेर समग्र अर्थतन्त्रले वर्तमान अति अल्पविकसित अवस्थाबाट उच्च विकसित अवस्थामा हवाई जहाज झैं उडान भर्ने (टेक अफ) नीति तथा योजना निर्माण र कार्यान्वयन गर्नु अनिवार्य हुनेछ,’ बाबुरामको सुझाव छ ।
भट्टराईले युवा नेतृत्वको सरकारले प्रधानमन्त्री मातहत एक अधिकारसम्पन्न हाइलेभल कमिसन फर इकोनोमिक टेक अफ वा त्यस्तै प्रकृतिको विशेष संरचना बनाएर छोटो समयमै पछिल्लो चरणको सिंगापुर, कोरिया, चीन झैं विकास र समृद्धिको बाटो अनुसरण गर्ने साहस गर्ला ? भनेर प्रश्नसमेत गरेका छन् । आगामी केही महिना थप परीक्षाका महिना हुनसक्छन् भन्दै उनले शुभकामनासमेत दिएका छन् ।
पछिल्लो समय बाबुराम रास्वपा र यसको नेतृत्वको सरकारलाई सुझाव र सल्लाह दिन लागिपरेका छन् । फागुनमा सम्पन्न निर्वाचनमा पनि उनले रास्वपालाई समर्थन गरेका थिए । त्यसबेला बाबुरामलाई ‘भावी राष्ट्रपति’ को ललिपप देखाइएको चर्चा चलेको थियो ।
