महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी मन्त्री वादीले ज्येष्ठ नागरिकहरूसँग सञ्चित ज्ञान र अनुभवलाई भावी पुस्तामा हस्तान्तरण गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैङ्क’ निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिएकी छन्।
३४औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिँदै मन्त्री वादीले ज्येष्ठ नागरिकलाई समाजका सक्रिय र सम्मानित साझेदारका रूपमा स्थापित गर्न डिजिटल प्रविधिको प्रयोग गरिने बताएकी छन्।
३४औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यस वर्ष ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार’ भन्ने नाराका साथ मनाइँदैछ।
मन्त्री वादीले बदलिँदो पारिवारिक संरचना र शहरीकरणका कारण ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका एक्लोपन र स्वास्थ्य समस्यालाई राज्यले उच्च प्राथमिकतामा राखेको बताएकी छन्। उनले ज्येष्ठ नागरिक केवल हेरचाहको आवश्यकता भएका व्यक्ति नभई समाजका मार्गदर्शक र अनुभवी धरोहर भएको उल्लेख गरेकी छन्।
उनले भनिन्, ‘ज्येष्ठ नागरिकहरूको अनुभव र ज्ञानको संरक्षण र पुस्तान्तरणलाई संस्थागत गर्न हामी ‘अनुभव बैङ्क’को अवधारणामा काम गरिरहेका छौँ।’
उनले यस पहलले अन्तरपुस्ता ज्ञान हस्तान्तरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छन्।
साथै, मन्त्री वादीले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा विपद्मा परी ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। उनले प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रालयले निरन्तर समन्वय गरिरहेको स्पष्ट पारेकी छन्।
मन्त्री वादीले ज्येष्ठ नागरिकप्रतिको सम्मान कुनै एक दिवसको औपचारिकतामा मात्र सीमित नभई हाम्रो व्यवहार, नीति र सामाजिक संस्कारका रूपमा स्थापित हुनुपर्नेमा जोड दिएकी छन्।
