दूरसञ्चार सेवाको नियमन थप कडाइ र व्यवस्थित बनाउने प्राधिकरण अध्यक्ष घिमिरेको भनाइ
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको नियमन र व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने बताएका छन्।
प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले दूरसञ्चार सेवा अत्यावश्यक सेवा बनिसकेकाले यसको नियमनलाई थप कडाइ र व्यवस्थित गर्न आवश्यक रहेको बताए। दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकायले थप गम्भीर भएर काम गर्नुपर्ने उनको भनाइ छ।
उपभोक्ताका रूपमा आफूहरू पनि दूरसञ्चार सेवाबाट प्रत्यक्ष प्रभावित हुने भएकाले सेवा प्रदायकलाई व्यवस्थित बनाउन नियामक निकायले सक्रिय भूमिका निर्वाह गर्ने उनले बताए।
उनका अनुसार नेपालमा भ्वाइस सेवा प्रदान गर्ने अपरेटरको संख्या विगतमा ६ रहेकामा अहिले दुई वटामा सीमित भएको छ। यस्तै, इन्टरनेट सेवा प्रदायक (आईएसपी) को संख्या भने बढेको छ।
दूरसञ्चार क्षेत्रको कुल आम्दानी पनि घट्दो क्रममा रहेको घिमिरेले बताए। डेटा सेवाबाट हुने आम्दानी बढे पनि भ्वाइस सेवाबाट हुने आम्दानी घटिरहेको उनले उल्लेख गरे। आम उपभोक्तामा दूरसञ्चार सेवाको प्रयोग भने दिनप्रतिदिन बढिरहेको उनको भनाइ छ।
यी अवस्थालाई ध्यानमा राखेर प्राधिकरणले दूरसञ्चार क्षेत्रको नियमनको दायरा फराकिलो बनाउने, सेवा क्षेत्रलाई थप व्यवस्थित गर्ने र आवश्यक स्थानमा नियमनलाई कडाइ गर्ने घिमिरेले बताए।
उनले नियामक निकायसामु रहेका चुनौती सरकारसँग समन्वय गरेर समाधान गर्ने बताए। साथै, प्राधिकरणका कामकारबाहीको निगरानी गर्दै आवश्यक सुझाव र दबाब दिन सञ्चार क्षेत्रलाई आग्रह गरे।
प्राधिकरणका कामकारबाहीमा बाह्य प्रभाव वा दबाब आएमा आफूलाई सही मार्गमा राख्न सञ्चार क्षेत्रले ‘वाचडग’को भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
प्राधिकरणले आफूले गरेका कामकारबाहीबारे प्रत्येक महिना सार्वजनिक रूपमा जानकारी गराउने पनि घिमिरेले बताए।
