काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि धादिङमा हालसम्म २५ वटा शव फेला परेका छन्। चीनको तिब्बततर्फबाट आएको बाढीका कारण नदीमा बगेर आएका शव धादिङका विभिन्न क्षेत्रमा भेटिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन्।
बाढीले धादिङमा सदरमुकाम जोड्नेसहित ६ वटा पक्की पुल बगाएको छ। त्यस्तै, १२ वटा झोलुंगे पुलसहित जिल्लामा कुल १८ वटा पुलमा क्षति पुगेको पाण्डेयले बताइन्।
बाढीका कारण सडकमा ठूलो मात्रामा लेदो थुप्रिएपछि पृथ्वी राजमार्ग बुधबारदेखि नै पूर्ण रूपमा अवरुद्ध छ। राजमार्गका विभिन्न स्थानमा बाढीले बगाएर ल्याएको लेदो थुप्रिएपछि सवारी आवागमन प्रभावित भएको हो।
सुरक्षाकर्मी र स्थानीय तहको सहयोगमा लेदो हटाउने काम भइरहेको पाण्डेयले बताइन्। बिहीबार साँझसम्म राजमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले जानकारी दिइन्।
प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार धादिङमा बाढीका कारण प्रत्यक्ष मानवीय क्षति भने भएको छैन। नदीमा बगेर आएका शव भने जिल्लाका विभिन्न स्थानबाट फेला परेका हुन्।
