काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारीलाई तीव्रता दिइएको छ। आगामी नोभेम्बरमा भ्रमण गर्ने गरी परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावाससँग समन्वय गर्दै तयारी अघि बढाइरहेको छ।
तर, यही अवधिमा टर्कीको अन्टाल्यामा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्षराष्ट्रको सम्मेलन (कोप–३१) आयोजना हुँदैछ। नोभेम्बर ९ देखि २० गतेसम्म हुने उक्त सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले औपचारिक निमन्त्रणा पठाएका छन्।
परराष्ट्र मन्त्रालयले टर्कीबाट प्राप्त निमन्त्रणा प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ। साथै, सम्मेलनमा नेपालको सहभागिताका लागि आवश्यक तयारीसमेत सुरु गरिएको जनाएको छ। यद्यपि, कोप–३१ मा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्रीले गर्ने वा अन्य कुनै उच्चपदस्थ व्यक्तिले गर्ने भन्ने विषय अझै टुंगो लाग्न बाँकी रहेको मन्त्रालयका एक अधिकारीले बताएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले कोप–३१ का लागि तयारी भइरहेको जानकारी दिँदै सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व कसले गर्ने भन्ने निर्णय हुन बाँकी रहेको बताए।
नेपालले यसअघि पनि कोप सम्मेलनमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ। कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी भएको थियो भने कोप–३० मा जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका तत्कालीन कृषि मन्त्री मदनप्रसाद परियारले नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।
त्यसैगरी, कोप–२८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कोप–२६ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र कोप–१५ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल सहभागी भएका थिए। अन्य केही सम्मेलनमा भने तत्कालीन वातावरणमन्त्रीहरूले नेपालको प्रतिनिधित्व गरेका थिए।
जलवायु परिवर्तनबाट नेपाल प्रत्यक्ष रूपमा प्रभावित भएकाले कोप–३१ जस्तो अन्तर्राष्ट्रिय मञ्चमा उच्चस्तरीय सहभागिता आवश्यक रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ। संयुक्त राष्ट्रसंघको महासभाजस्तै जलवायु परिवर्तनसम्बन्धी यो सम्मेलन पनि नेपालका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएकाले उच्च तहको सहभागितामा जोड दिइएको उनीहरूको भनाइ छ।
मन्त्रालयका एक अधिकारीका अनुसार संयुक्त राष्ट्रसंघको महासभामा पनि सुरुमा परराष्ट्रमन्त्री सहभागी हुने तयारी भए पनि अन्तिम समयमा प्रधानमन्त्री बालेन स्वयं सहभागी भएका थिए। कोप–३१ का लागि अझै केही समय बाँकी रहेकाले त्यतिन्जेल नेपालको प्रतिनिधिमण्डलको नेतृत्वबारे निर्णय हुन सक्ने ती अधिकारीले बताए।
यसैबीच, प्रधानमन्त्री बालेनको भारत भ्रमण पनि नोभेम्बरमै गर्ने गरी तयारी भइरहेको छ। भ्रमणको निश्चित मिति भने तय भइसकेको छैन। एउटै महिनामा भारत भ्रमण र कोप–३१ सम्मेलन पर्ने भएपछि प्रधानमन्त्रीले कुन कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाउने भन्ने विषयमा परराष्ट्र मन्त्रालयले निर्णय गर्नुपर्ने अवस्था देखिएको छ।
यदि दुवै कार्यक्रममा प्रधानमन्त्री स्वयं सहभागी हुने अवस्था बनेमा त्यसअनुसार छुट्टाछुट्टै तयारी गर्नुपर्ने हुन्छ। तर हालसम्म भारत भ्रमण र कोप–३१ दुवैको सहभागिता औपचारिक रूपमा निश्चित भइसकेको छैन।
कोप–३१ को आयोजना टर्कीले गर्दैछ। सम्मेलनको अध्यक्षका रूपमा मुरात कुरुमलाई मनोनयन गरिएको छ भने छलफलको अध्यक्षमा अस्ट्रेलियाका क्रिस बोवेन चयन भएका छन्।
हरेक वर्ष आयोजना हुने कोप सम्मेलन जलवायु परिवर्तनका विषयमा बहुपक्षीय निर्णय तथा सहमति निर्माण गर्ने प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो। यसले विश्वका अधिकांश देशलाई एउटै मञ्चमा ल्याएर जलवायु संकट समाधानका विषयमा छलफल र सहकार्यको वातावरण बनाउँदै आएको छ।
सम्मेलनमा विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित गर्ने, जलवायु परिवर्तनबाट प्रभावित जोखिममा रहेका समुदायलाई अनुकूलनका लागि सहयोग गर्ने तथा सन् २०५० सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने लगायतका विषयमा छलफल हुँदै आएको छ।
