राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ।
हवाई सेवालाई थप सुरक्षित, भरपर्दो र जिम्मेवार बनाउने उद्देश्यले ल्याइएको यो विधेयकले यात्रुको अधिकार संरक्षणका साथै दुर्घटना वा अन्य प्राविधिक समस्यामा यात्रुले पाउने क्षतिपूर्तिको कानूनी आधार तयार पारेको हो।
शुक्रवारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। सदनमा उपस्थित सदस्यहरूले उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा समर्थन गरेका छन्।
नयाँ ऐनको प्रस्तावनामा उल्लेख गरिएअनुसार, हवाई दुर्घटनामा हुने मृत्यु, अङ्गभङ्ग, चोटपटक, उडानमा हुने विलम्ब वा यात्रा स्थगन हुँदा यात्रु वा तेस्रो पक्षले प्राप्त गर्ने क्षतिपूर्तिको व्यवस्थालाई स्पष्ट र व्यवस्थित बनाउने लक्ष्य लिइएको छ।
यसअघि छरिएर रहेका वा स्पष्ट नभएका कानुनी प्रावधानहरूलाई एकीकृत गर्दै यो ऐनले वायुसेवा कम्पनीहरूलाई थप उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।
