काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्।
प्रहरीका अनुसार असोज १४ गते राति करिब १ बजे उनीहरू टेकु अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए। सो क्रममा ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज गर्नुका साथै धाकधम्की दिएको र हातपातसमेत गरेको आरोप छ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोली अस्पताल पुगेको थियो। चेकजाँचका क्रममा पक्राउ परेका तीनै जनाको उक्त घटनामा संलग्नता रहेको खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार पक्राउ परेकाहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
