श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच अब ‘सत्ताको नभई कामको प्रतिस्पर्धा’ हुनुपर्ने बताएका छन्।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा आइतवार सम्बोधन गर्दै राईले यस्तो बताएका हुन्। उनले नेपाली काँग्रेसजस्तो ऐतिहासिक दललाई विगतका त्रुटि सच्याउँदै नयाँ पुस्ताको भावनाअनुरूप रूपान्तरण हुन आह्वान गरे।
महासचिव राईले काँग्रेस लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि धेरै योद्धाहरूको बलिदानबाट निर्माण भएको पार्टी भएको स्मरण गराए। उनले काँग्रेसलाई केवल एउटा राजनीतिक दलका रूपमा मात्र नभई नेपाली प्रजातन्त्रको एउटा महत्वपूर्ण अध्यायका रूपमा व्याख्या गरे।
राईले आफ्नो सम्बोधनका क्रममा विगतमा भएका राजनीतिक गल्तीहरूबाट सिक्दै अबको बाटो रूपान्तरण र राष्ट्र निर्माणको हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘आज यस महाधिवेशनबाट म एउटा नयाँ सन्देश दिन चाहन्छु। नेपाली काँग्रेसलाई पनि आग्रह गर्न चाहन्छु, अब कुन पार्टीले कति समय सत्ता चलाउने भन्ने प्रतिस्पर्धाभन्दा कुन पार्टीले देशका लागि कति राम्रो काम गर्ने भन्ने विषयमा प्रतिस्पर्धा गर्नुपर्छ। हाम्रा पार्टीका आदरणीय अध्यक्ष हर्क साम्पाङले पनि भन्दै आएका छन्, अब राजनीतिक प्रतिस्पर्धा सत्ता र पदका लागि मात्र होइन, जनताको हितमा राम्रो काम गर्ने विषयमा हुनुपर्छ। यो भावनाका साथ देशका सबै राजनीतिक दलहरू एकजुट भएर अगाडि बढ्नुपर्छ। पुरानो र ऐतिहासिक राजनीतिक दलका रूपमा नेपाली काँग्रेसले पनि यस अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मेरो विश्वास छ।’
उनले हालको संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सत्ताको आयु लम्ब्याउने प्रतिस्पर्धाभन्दा जनताको हितमा कसले बढी काम गर्ने भन्ने विषयमा प्रतिस्पर्धा गर्न चुनौती दिए।
