काठमाडौं, १९ असोज । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन्।
बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा सात दिने औपचारिक भ्रमणका लागि सिग्देल सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए। भ्रमणले सदियौँदेखि रहँदै आएको दुई देशबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास जंगी अड्डाले लिएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।
केही दिनअघि मात्रै सिग्देल चीनको भ्रमण पूरा गरी नेपाल फर्केका थिए। कार्यकालको अन्तिमतिर रहेका सिग्देलले ठूला मुलुकको भ्रमण पूरा गरिसकेका छन्।
