पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पटकपटक राजनीतिक परिवर्तन भए पनि अपेक्षित आर्थिक तथा सामाजिक रूपान्तरण हुन नसकेको बताएका छन् ।
ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै पाण्डेले २००७ सालदेखि हालसम्म भएका राजनीतिक परिवर्तनले आर्थिक रूपान्तरणको अपेक्षा पूरा गर्न नसकेको बताएका हुन् ।
उनले जेन–जी आन्दोलनको एक वर्ष बितिसक्दा पनि समाजमा अपेक्षित आशा पलाउन नसकेको भन्दै भ्रष्टाचार अन्त्य र स्वदेशमै रोजगारीको मागसहित भएको आन्दोलनको उद्देश्यअनुसार सुधार हुन नसकेको बताएका छन् ।
उनले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्नुको साटो बढिरहेको तथ्यांक प्रस्तुत गरेका छन् । गत वर्षको साउनमा ६८ हजार जनाले विदेश जान अनुमति लिएकोमा यस वर्ष सोही अवधिमा ७० हजारले अनुमति लिएको उनले बताएका छन् ।
उनले नागरिकका मुद्दालाई प्राथमिकतामा राख्दै मूलधारमा पुर्याउन ‘नागरिक आवाज अभियान’लाई साझा मञ्चका रूपमा अघि बढाउने बताएका छन् । अभियान राजनीतिक विकल्पका रूपमा अघि नबढाइएको स्पष्ट पार्दै उनले सरकारका कामकारबाहीको निरन्तर निगरानी गर्ने बताएका छन् ।
पाण्डेले भने, ‘२००७ सालदेखि आजसम्म ७६ वर्षको अन्तरालमा अनेक पटक राजनीतिक परिवर्तन भए तर हाम्रो मुलुकले खोजेको राजनीतिकसँगसँगै आर्थिक रूपान्तरण भएन । सरकार जिम्मेवार, जवाफदेही बन्यो र सही काम गर्यो भने हामी समर्थन पनि गर्छौँ । त्यो नगर्दाखेरी हामी खबरदारी पनि गर्छौँ ।’
पाण्डेले अभियानलाई समयक्रमसँगै थप सुधार गर्दै नागरिकका सुझावका आधारमा अघि बढाइने बताएका छन् ।
