काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत असोज ८ गते सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय समेटेर अन्तरपार्टी निर्देशन (अपानि)–३ जारी गरेका छन् ।
केन्द्रीय कमिटी बैठकमार्फत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको एमालेले अपानिमार्फत भण्डारीको जिम्मेवारी र भूमिकासमेत स्पष्ट पारेको छ ।
अध्यक्ष ओलीले जारी गरेको अपानिअनुसार भण्डारी अध्यक्षपछिको दोस्रो वरीयतामा रहनेछिन् । केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा समेत अबदेखि भण्डारी सहभागी हुने छिन् ।
‘वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने,’ अपानिमा भनिएको छ, ‘केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने ।’
भण्डारीलाई दिइएको भूमिकासम्बन्धी निर्णय आगामी विधान महाधिवेशनमा अनुमोदन गर्ने एमालेले जनाएको छ ।
अपानिमा भण्डारीको नियुक्ति पार्टी विधानको धारा १०५ मा रहेको बाधा–अड्काउ फुकाउने व्यवस्था तथा धारा १३(क) मा रहेको दुई महाधिवेशनबीचको अवधिमा राष्ट्रिय महाधिवेशनप्रति उत्तरदायी भएर पार्टीको सर्वोच्च संस्थाको हैसियतमा निर्णय गर्न पाउने अधिकार प्रयोग गरेर गरिएको उल्लेख छ ।
