काठमाडौँ । काठमाडौँ र सिन्धुलीबाट संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीन जनालाई प्रहरीले पक्राउ गर्यो । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेबाट करिब १४० ग्राम तौलको भालुको पित्त जस्तो देखिने आखेटोपहार १ थानसहित नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–१ सिसनिया घर बताउने ३१ वर्षीय योगेन्द्र प्रसाद चौधरी आइतबार पक्राउ परे । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गर्यो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठायो । यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका–१४ तल्लो रानीबास क्षेत्रबाट करिब ६ किलोग्राम तौलको हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार १ थानसहित दुई जना सोमबार पक्राउ परे । पक्राउ पर्नेहरूमा कमलामाई नगरपालिका–१४ का ६० वर्षीय सोम बहादुर माझी (पोरे माझी) र महोत्तरी बर्दिबास नगरपालिका–५ का ६० वर्षीय चित्र बहादुर विश्वकर्मा रहे । सीआइबीकै टोलीले उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय सिन्धुली पठायो ।
