काठमाडौँ। देशभर १० हजार २ सय १० जना मानिसहरूमा स्क्रब टाइफसकाे सङ्क्रमण देखियो । स्वास्थ्य सेवा विभाग इपीडीमीयाेलाेजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म १० हजार २१० जना मानिसहरूमा स्क्रब टाइफस सङ्क्रमण देखियो । यस्तै, सङ्क्रमणबाट ४ जनाको मृत्यु भयो । महाशाखाका अनुसार देशका ७४ जिल्लाहरूमा सङ्क्रमण फैलियो । सङ्क्रमण र मृत्युको प्रदेशगत तथा जिल्लागत वितरण अनुसार लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित बन्यो । लुम्बिनी प्रदेशमा दुई हजार ८४८ जना सङ्क्रमित भए । त्यस्तै सुदूरपश्चिममा २ हजार १३ जना, गण्डकीमा १,८९५ जना, बागमतीमा एक हजार २८४ जना, कोशीमा १ हजार १६० जना, कर्णालीमा ७५१ जना र मधेस प्रदेशमा २५९ जना सङ्क्रमित रहे । जोखिम बढेसँगै स्वास्थ्य महाशाखाले झाडी, घाँस, खेतबारी तथा जङ्गलमा जाँदा सावधानी अपनाउन, पूरै शरीर ढाक्ने लुगा र बुट लगाउन तथा घर फर्किएपछि मनतातो पानी र साबुनले नुहाउन सर्वसाधारणलाई आग्रह गर्यो। अचानक तीव्र ज्वरो आउने, टाउको र शरीर दुख्ने, अत्यधिक थकान हुने वा शरीरमा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन र थप जानकारीका लागि महाशाखाको कल सेन्टर १११५ मा सम्पर्क गर्न सुझाए ।
