काठमाडौं । चीनको दक्षिण–पश्चिमी क्षेत्र सिजाङ (तिब्बत) को केरुङ काउन्टीमा गएको विनाशकारी पहिरोपछि शुक्रबार उद्धार टोली अति प्रभावित क्षेत्रमा पुगेको छ।
गत बुधबार गएको भीषण पहिरोले केरुङ क्षेत्रको भौगोलिक अवस्था नराम्ररी प्रभावित बनाएको छ। पहिरोका कारण सडक तथा आवागमनका मार्गमा क्षति पुगेपछि उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भएको थियो।
उद्धारका क्रममा अग्नि नियन्त्रकहरूले डोरी, डुङ्गा र ड्रोनलगायत उपकरणको प्रयोग गर्दै जोखिमपूर्ण तथा कठिन मार्ग पार गरेका छन्। जटिल भूबनोट र ठूलो क्षतिका बाबजुद उद्धारकर्मीहरूले प्रभावित क्षेत्रमा खोजी तथा राहत कार्यलाई तीव्रता दिएका छन्।
उद्धार टोलीले प्रभावित क्षेत्रमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी गर्नुका साथै आवश्यक राहत तथा उद्धार सामग्री पुर्याउने कामसमेत अघि बढाएको छ।
