ललितपुर । जनैपूर्णिमाको अवसरमा ललितपुरको पाटनस्थित ऐतिहासिक एवं प्रसिद्ध कुम्भेश्वर मन्दिरमा बिहीबार विशेष मेला लागेको छ।
बिहीबार बिहानैदेखि कुम्भेश्वर मन्दिर परिसरमा पूजाआजा तथा दर्शनका लागि भक्तजनको उल्लेख्य भीड लागेको छ। जनैपूर्णिमाका अवसरमा कुम्भेश्वर महादेवको दर्शन गर्नुका साथै मन्दिर परिसरमा रहेको पवित्र कुण्डमा स्नान गर्न काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजन पुगेका छन्।
धार्मिक मान्यताअनुसार रसुवाको गोसाइँकुण्डसम्म पुग्न नसक्ने भक्तजनले कुम्भेश्वर कुण्डमा स्नान गरे गोसाइँकुण्डमा स्नान गरेसरह पुण्य प्राप्त हुने विश्वास छ। यही जनविश्वासका कारण जनैपूर्णिमाका दिन कुम्भेश्वरमा विशेष चहलपहल हुने गरेको छ।
नयाँ जनै धारण गर्ने तथा रक्षाबन्धन बाँध्ने परम्पराअनुसार मन्दिर परिसरमा ब्राह्मणहरूबाट रक्षाबन्धन ग्रहण गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति रहेको छ।
मेलामा आउने भक्तजनको व्यवस्थापन तथा सहज दर्शनका लागि स्थानीय प्रशासन र विभिन्न संघसंस्थाका स्वयंसेवक परिचालन गरिएको छ। बिहानैदेखि सुरु भएको भक्तजनको चहलपहल दिनभर कायम रहने देखिएको छ।
