काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय दोस्रोपटक सरेको छ।
मतदानको सम्पूर्ण तयारी पूरा नभएपछि बिहीबार दिउँसो १ बजेका लागि तोकिएको मतदान समय पुनः सारिएको हो। यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको थियो। निर्वाचन समितिले त्यसलाई दिउँसो १ बजेसम्म सारेको थियो।
अब निर्वाचन समितिले दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने नयाँ समय निर्धारण गरेको छ। मतदानमा ज्येष्ठ सदस्यले पहिलो मत खसाल्ने व्यवस्था गरिएको छ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन्। त्यसका लागि काठमाडौंका तीन स्थानमा सातवटा मतदान केन्द्र स्थापना गरिएको छ।
निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएका छन्। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्।
त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ। खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ।