सञ्जय मिश्रा
रौतहट, २३ असोज । रौतहटको गौरमा प्रहरीले ठूलो परिमाणमा स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । बरामद रकमको अवैध स्रोतका कारण हुण्डी कारोबारको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका–१ निवासी ४२ वर्षीय शेराज अलि रहेका छन् ।
बुधबार राति करिब साढे ८ बजे गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एआर २४९५ नम्बरको टीभीएस राइडर मोटरसाइकल चेकजाँच गर्ने क्रममा अलि पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको बोर्डर एक्सन टिम (BAT) र गौर भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले शंकास्पद अवस्थामा मोटरसाइकल रोकेर तलासी लिँदा उनको साथबाट नेपाली १ लाख १६ हजार ५ सय र भारतीय १ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेपाली ५ सय दरका २३३ थान र भारतीय ५ सय दरका २०० थान नोट बरामद गरिएको हो ।
नगदसहित प्रहरीले उनी चढेको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । बरामद रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि अलिमाथि हुण्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले बताएका छन् ।
सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध वित्तीय कारोबार नियन्त्रणका लागि निगरानी तथा चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।
