बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखा र धादिङमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले घर, झोलुङ्गे पुल र जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याउनुका साथै तल्लो तटीय क्षेत्रका बस्तीमा समेत जोखिम बढाएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै तनहुँ, मुग्लिन र चितवनसम्मका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताएका छन्। उनका अनुसार हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन भने नेपाली सेनाको हेलिकप्टरबाट ६ जनाको सकुशल उद्धार गरिएको छ।
प्रारम्भिक जानकारीअनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङ क्षेत्रमा हिमपहिरो खसेपछि नदीमा बाढी आएको आशंका गरिएको छ। बाढीले आरुघाटमा धादिङ जोड्ने पुल, विभिन्न झोलुङ्गे पुल तथा केही घर बगाएको छ। शाहस ऊर्जा र टाइम्स इनर्जीका संरचनामा समेत क्षति पुगेको खबर आएको छ।
नदीको बहाव खतराको तहभन्दा निकै माथि पुगेपछि आरुघाटस्थित जलमापन केन्द्रले काम गर्न छाडेको छ। सिर्दीबासमा एउटा कच्ची घर बगाएको र अर्को घरमा बाढी पसेको छ। माछीखोला क्षेत्रमा ५ देखि ७ घरमा बाढी पसेको तथा २० देखि २२ घर उच्च जोखिममा रहेको प्रारम्भिक विवरण छ।
प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीका अनुसार बाढीको प्रभाव चितवन र नवलपरासी पूर्वसम्म पर्न सक्ने भएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई सतर्कता अपनाउन निर्देशन दिइएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी उद्धार तथा राहतका काम अघि बढाइएको छ।
जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक परे हेलिकप्टरबाट उद्धार गर्ने तयारी गरिएको छ। उद्धार टोलीले प्रभावित क्षेत्रमा निरन्तर निगरानी गरिरहेको छ भने नदीको बहाव र जोखिमको अवस्थालाई ध्यानमा राखेर थप उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
हालसम्म मानवीय क्षतिको पुष्टि नभए पनि बाढीले गोरखा र धादिङसँगै तल्लो तटीय क्षेत्रका बस्तीलाई समेत जोखिममा पारेको छ। प्राधिकरणले नदी किनारमा नजान, बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनले जारी गरेका सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
