काठमाडौं । चीनले नेपालका बाढीपहिरो प्रभावितका लागि पठाएको ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगेका छन्।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार आइतबार बिहान करिब ७ बजे ती विमान राहत सामग्री लिएर काठमाडौं अवतरण गरेका हुन्। चीनको चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन्।
दूतावासका अनुसार विमानमा टेन्ट, कम्बल, स्लिपिङ ब्याग, सुक्खा खाना र प्राथमिक उपचार किटलगायत १३ हजार २०० थान आपत्कालीन राहत सामग्री छन्। ती सामग्रीको कुल तौल ५० टन रहेको जनाइएको छ।
राहत सामग्रीसँगै चीनबाट चारजना सुरुङ उद्धार विशेषज्ञ तथा उद्धारका लागि आवश्यक उपकरणसमेत नेपाल आएका छन्। बाढीपहिरोका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेका बेला चिनियाँ टोली नेपाल आएको हो।
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसीलाई हस्तान्तरण गरेका छन्।
