बूढीगण्डकी बाढी : ४७ जनाको उद्धार, सयौँ सुरक्षाकर्मी परिचालन
बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
आइतबार दिउँसो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलनमार्फत बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार गरी सुरक्षित स्थानमा राखिएको जानकारी दिएको हो।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टरसहित ३८६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाका १२७, नेपाल प्रहरीका ८३ र सशस्त्र प्रहरी बल नेपालका १७७ जना छन्।
बाढीका कारण गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेतबाट सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही क्षेत्रमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको प्राधिकरणले जनाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–५ को माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।
धार्चे गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घर बगाएको सूचना प्राप्त भएको छ। यस्तै, आरूघाट गाउँपालिका–९ नयाँपुलमा गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको भागमा क्षति पुगेको छ। उक्त पुलका तीन भागमध्ये एउटा भाग बाढीले बगाएको उप्रेतीले बताए।
उनका अनुसार माछीखोलाको तल्लो बस्तीमा बाढी पस्दा २० भन्दा बढी घर जोखिममा परेका छन्। यसैगरी, आरूघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल पनि बाढीले बगाएको छ।
बूढीगण्डकी ३४१ मेगावाट आयोजनाको मुख्य क्याम्प क्षेत्र र त्यहाँ रहेका केही निर्माण उपकरण बगाएको जानकारीसमेत प्राप्त भएको छ। दोभान खोला २४.५ मेगावाट आयोजनाको क्याम्प क्षेत्रमा रहेका केही घरमा क्षति पुग्नुका साथै बेलीब्रिजसमेत बगाएको प्राधिकरणले जनाएको छ।
बाढीको वास्तविक कारण पत्ता लगाउन तथा क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गर्न प्राधिकरण र सडक विभागको प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा खटिएको छ। आरूघाटस्थित पुलमा तत्काल बेलीब्रिज राख्न सकिने वा नसकिने विषयमा समेत प्राविधिक अध्ययन भइरहेको उप्रेतीले बताए।
उनले भने, “बाढी प्रभावित क्षेत्रबाट ४७ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउने र क्षतिग्रस्त पुलको अवस्था अध्ययन गर्ने काम भइरहेको छ। बाढीबाट भएको क्षतिको विवरण संकलन गर्नुका साथै आवश्यक प्राविधिक मूल्याङ्कनसमेत अघि बढाइएको छ।”
प्राधिकरणका अनुसार बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी छ।
