सरकारले निजी क्षेत्रसँगको सहकार्यमा सीपयुक्त जनशक्ति उत्पादन गर्ने
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले निजी क्षेत्रसँग सहकार्य गरेर बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्ने र उनीहरूलाई रोजगारीसँग जोड्ने बताएका छन्।
आइतबार भक्तपुरमा एभरेष्ट मल्टिस्किल प्रा.लि.द्वारा सञ्चालित सीपमूलक तालिम केन्द्रको उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्। दक्ष जनशक्तिको अभावमा युवाले रोजगारी पाउन र रोजगारदाताले आवश्यक सीप भएका कामदार भेट्टाउन कठिन भइरहेको उनले बताए।
उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको माग रहेको उल्लेख गर्दै उनले तालिम केन्द्रमार्फत युवालाई आवश्यक सीप सिकाएर रोजगारीका अवसरसँग जोड्नुपर्नेमा जोड दिए।
सीप विकास कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए। रोजगारदाता तथा उद्योगी व्यवसायीलाई प्रशिक्षार्थीलाई व्यावहारिक अनुभव प्रदान गर्न र तालिम प्राप्त युवालाई रोजगारीमा समेट्न पनि उनले आग्रह गरे।
तालिम केन्द्रको सफलता तालिम लिने व्यक्तिको संख्याबाट मात्र नभई तालिमपछि रोजगारी प्राप्त गर्ने, उद्यम सञ्चालन गर्ने र आम्दानी बढाउने व्यक्तिको संख्याका आधारमा मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ।
उनले भने, “नेपालको प्रमुख चुनौती बेरोजगारी मात्र होइन, बजारले खोजेको सीप र हामीले उत्पादन गरिरहेको जनशक्तिबीचको अन्तर पनि हो। एकातिर युवाहरू रोजगारी खोजिरहेका छन् भने अर्कातिर उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता छ। त्यसैले हाम्रो प्राथमिकता बजारको मागअनुसार सीप विकास गर्ने, सीपअनुसार रोजगारी उपलब्ध गराउने र रोजगारीमार्फत आत्मनिर्भरता हासिल गर्ने हुनुपर्छ।
“युवालाई प्रमाणपत्र मात्र होइन, काम गर्ने सीप दिनुपर्छ। तालिमसँगै रोजगारीमा जोडिने अवसर पनि उपलब्ध गराउनुपर्छ। तालिम केन्द्रको सफलता कति जनाले तालिम लिए भन्ने आधारमा मात्र होइन, कति जनाले रोजगारी पाए, कति जनाले उद्यम सुरु गरे र उनीहरूको आम्दानीमा कति सुधार आयो भन्ने आधारमा पनि मापन गर्नुपर्छ।
“यसका लागि सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीच सहकार्य आवश्यक छ। रोजगारदाता तथा उद्योगी व्यवसायीले तालिम केन्द्रसँग सहकार्य गरी प्रशिक्षार्थीलाई व्यावहारिक अनुभव दिन र सीपयुक्त युवालाई रोजगारीमा जोड्न सहयोग गर्नुपर्छ। युवाहरूले पनि सीप सिक्न हिचकिचाउनु हुँदैन। कुनै पनि इमानदार श्रम सानो हुँदैन। सीप, मेहनत, अनुशासन र निरन्तर सिक्ने बानीले युवालाई आत्मनिर्भर बनाउन सक्छ। तालिमलाई प्रमाणपत्रमा मात्र सीमित नराखी भविष्य निर्माणको माध्यम बनाउनुपर्छ।
“हाम्रो लक्ष्य युवालाई विदेश जानबाट रोक्नु मात्र होइन, नेपालमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्नु र विदेश जाने युवालाई पनि दक्ष, सुरक्षित तथा मर्यादित श्रमिकका रूपमा स्थापित गर्नु हो। श्रम, युवा तथा रोजगार मन्त्रालयको प्राथमिकता वैदेशिक रोजगारीलाई मर्यादित बनाउने, आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने, सीप विकास तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र श्रमिकको सम्मान सुनिश्चित गर्ने हो।
“हामीले यस्तो वातावरण निर्माण गर्नुपर्छ, जहाँ सीप भएका युवाले अवसर पाऊन्, मेहनत गर्नेले सम्मान पाऊन् र उद्यम गर्न चाहनेले आवश्यक सहयोग पाऊन्। सीपयुक्त युवा, सम्मानित श्रम, सिर्जनशील उद्यम र समृद्ध नेपाल हाम्रो साझा सङ्कल्प हो।”
मन्त्री यादवले मन्त्रालयले दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम अघि बढाइरहेको बताए। साथै, वैदेशिक रोजगारीमा जाने युवालाई दक्ष, सुरक्षित र मर्यादित श्रमिकका रूपमा स्थापित गर्ने दिशामा पनि काम भइरहेको उनले बताए।
नवनिर्मित तालिम केन्द्रले गुणस्तरीय प्रशिक्षणमार्फत दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे। युवालाई तालिममा सहभागी हुन र सीप विकासका अवसरको सदुपयोग गर्न पनि उनले आग्रह गरे।
सीपयुक्त युवा, सम्मानित श्रम, सिर्जनशील उद्यम र समृद्ध नेपाल निर्माणलाई साझा सङ्कल्पका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।
