काठमाडौं, २६ असोज । लोकसभामा विपक्षी दलका नेता एवं भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले सर्वोच्च अदालततर्फ मार्च गर्ने घोषणा गरेका छन्। उनले सोमबार अदालततर्फ मार्च गर्ने भएका छन्।
‘विपक्षी दलहरू, नागरिक समाजका सङ्गठनहरू र सर्वसाधारण नागरिकले मत चोरी अन्त्य गर्न, मतदाता नामावलीको विशेष गहन संशोधन तत्काल रोक्न र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै सर्वोच्च अदालततर्फ मार्च गर्नेछन्,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
मार्चका क्रममा मत चोरी अन्त्य गर्न, एसआईआर प्रक्रिया रोक्न र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतका प्रधानन्यायाधीशलाई ज्ञापनपत्र बुझाइनेछ। प्रधानन्यायाधीश सूर्यकान्तले भने राहुल गान्धीलाई नभेट्ने बताइसकेका छन्।
राहुल गान्धीले शनिबार शान्तिपूर्ण विरोध प्रदर्शन गर्न दिल्ली आएका युवाहरूमाथि प्रहरी र भाजपा कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएका छन्। ‘प्रदर्शनकारीहरू घृणा वा क्रोधका साथ आएका थिएनन्, बरु प्रेम र लोकतान्त्रिक मूल्य–मान्यताका साथ आएका थिए,’ उनले लेखेका छन्।
गान्धीले पार्टी, जाति, धर्म, समुदाय, राज्य र लैङ्गिक पहिचानभन्दा माथि उठेर मार्चमा सहभागी हुन मानिसहरूलाई अपिल गरेका छन्। शनिबारको विरोध प्रदर्शनका क्रममा गान्धी दिल्लीमा अनुपस्थित रहनुले उनको रणनीतिमाथि प्रश्न उठाएको विषय पनि उल्लेखनीय छ।
