भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने स्पष्ट पारेका छन्।
सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्ना दृष्टिकोण र कार्ययोजना प्रस्तुत गर्दै उनले सिंगो दक्षिण एसिया बेलायती उपनिवेशमा रहँदासमेत नेपाल अविभाज्य र स्वतन्त्र रहनु नै मुलुकको कूटनीतिक सफलताको ऐतिहासिक प्रमाण भएको दाबी गरेका हुन्। संसदीय सुनुवाइ समितिका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै डा. पाण्डेले विकास र पूर्वाधार निर्माण तथा राजनीतिक स्थिरतामा कमजोरी देखिए पनि नेपालको सार्वभौम कूटनीति कहिल्यै असफल नभएको बताए। उनले नेपालजस्तो सानो राष्ट्र आफ्नो नक्सा, झण्डा र राष्ट्रिय पहिचानका सवालमा स्वाभाविक रूपमै संवेदनशील रहने उल्लेख गर्दै कूटनीतिक वार्ताहरूमा पर्याप्त गृहकार्य र परिपक्वता आवश्यक पर्ने बताए।
बीपी कोइराला भारत–नेपाल फाउन्डेसन (बीपीकेएफ) को प्रभावकारिता घट्दै गएको विषयमा स्पष्टीकरण दिँदै डा. पाण्डेले यस संयन्त्रलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए। विगतमा नेपाल सरकारको तर्फबाट बजेट विनियोजन कम हुँदा भारतको तुलनामा नेपाली पक्षका कार्यक्रमहरू ओझेलमा परेको स्वीकार गर्दै उनले राष्ट्रिय प्राथमिकताका आधारमा फाउन्डेसनका गतिविधिहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यशैली र व्यवस्थापनमा व्यापक सुधार ल्याउने अठोट व्यक्त गर्दै डा. पाण्डेले आधारभूत सूचना प्रविधिमा समेत कमजोरी देखिएको उल्लेख गरे।
दूतावासको आधिकारिक वेबसाइटमा पूर्वराजदूतहरूको नामावलीसमेत नहुनु दुःखद् भएको भन्दै उनले कुनै अतिरिक्त बजेटबिनै सुधार गर्न सकिने प्रशासनिक कामहरू तत्काल अघि बढाइने जानकारी दिए। उनले आफ्नो निष्ठा, अनुभव, ज्ञान र सम्बन्ध सञ्जाल (नेटवर्क) को अधिकतम उपयोग गरी दूतावासको कार्यक्षमता अभिवृद्धि गर्ने बताए।
