काठमाडौं, २६ असोज । चलचित्र विकास बोर्डले सिनेमा हलमा प्रदर्शनरत नौवटा नेपाली चलचित्रको कमाइ विवरण सार्वजनिक गरेको छ ।
सबैभन्दा बढी कमाइ ‘गौँथली’को छ । चलचित्रले २६ करोड दुई लाख ७० हजार ५९० रुपैयाँ ग्रस कमाएको छ ।
दोस्रो स्थानमा चलचित्र ‘पेन्सन पट्टा’ उक्लिएको छ । भदौ २६ गते प्रदर्शन भएको चलचित्रले आइतबारसम्म नौ करोड ८८ लाख ९२ हजार १८८ रुपैयाँ ग्रस कमाएको बोर्डको विवरणमा उल्लेख छ ।
बोर्डको सिनेपा: विवरणअनुसार चलचित्र ‘बा: एक योद्धा’ले आइतबार रातिसम्म तीन करोड पाँच लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कमाइ गरेको छ । चलचित्रको टिकट बिक्रीको संख्या भने एक लाख सात हजार ५३३ पुगेको छ ।
निखिल उप्रेतीको ‘आचार्य’ले एक करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ, ‘बेहुली’ले दुई करोड ९९ लाख ४० हजार ७२४ रुपैयाँ, ‘झिँगेदाउ २’ले एक करोड ४६ लाख १२ हजार ९१६ रुपैयाँ र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले एक करोड ३१ लाख ६० हजार ५४५ रुपैयाँ, ‘चमेलीको पोइ’ले पाँच लाख ५० हजार २१० रुपैयाँ र ‘चंगुल’ले एक लाख ३८ हजार ३८० रुपैयाँ ग्रस कमाएका छन् ।
