संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउँदै नेपाली नागरिकको सुरक्षा र हितमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो कार्यकालका लागि कूटनीतिक कार्ययोजना प्रस्तुत गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। थापाले नेपालको परराष्ट्र नीतिका लक्ष्य हासिल गर्न आर्थिक कूटनीतिलाई प्रमुख औजारका रूपमा प्रयोग गर्ने बताए। उनले नेपाल र अमेरिकाबीचको ८० वर्षको मैत्रीपूर्ण सम्बन्धलाई आधार मानेर उच्चस्तरीय भ्रमण आदानप्रदान र लगानी भित्र्याउन सक्रिय पहल गर्ने योजना सुनाए। आफ्नो कूटनीतिक यात्राको चर्चा गर्दै थापाले २५ वर्षअघि सोही दूतावासमा इन्टर्नका रूपमा काम गर्दा देखेको सपना हाल पूरा हुने चरणमा रहेको स्मरण गरे।
कार्ययोजनामा उनले राहदानीको प्रभावकारिता बढाउने, नेपाली सुरक्षा निकायहरू (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) को क्षमता अभिवृद्धि गर्ने र ‘इन्सार्याग’ को सदस्यता नेपालका लागि सुनिश्चित गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेका छन्। अमेरिकामा रहेका नेपालीहरूको सुरक्षा र हितका लागि दूतावासबाट विशेष पहल गर्ने उनले बताए।
