नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउने गरी मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताएकी छन्।
सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। मुलुकको शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी जीवनोपयोगी बनाउनुपर्नेमा उनको जोड छ। उनले मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीतिनिर्माता मात्र जिम्मेवार भएर नपुग्ने बताइन्। उनले मुलुकको विकास र समृद्धिका लागि हरेक नागरिक र समुदायको पनि उत्तिकै जिम्मेवारी हुने बताइन्। उनले नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन र इमानदारी विकासका महत्त्वपूर्ण आधार भएको समेत बताइन्। नेता भण्डारीले नागरिक शिक्षाले लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग गर्ने उल्लेख गर्दै नागरिक शिक्षामा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा समेत जोड दिइन्। नागरिकले राज्यबाट अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वाभाविक भए पनि राज्य र समाजप्रतिको आफ्नो भूमिका तथा जिम्मेवारी बुझ्न पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।
उनले भनिन्, ‘मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीतिनिर्माताहरू मात्र जिम्मेवार भएर पुग्दैन। समाजका हरेक पक्ष, हरेक समुदाय र प्रत्येक नागरिकको पनि विकासमा आफ्नो भूमिका र जिम्मेवारी हुन्छ। नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन, इमानदारी पनि विकासका महत्त्वपूर्ण आधार हुन्। यसअर्थमा नागरिक शिक्षा लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्ने महत्त्वपूर्ण आधार हो। यसले नागरिकमा आलोचनात्मक चेतना, सामाजिक उत्तरदायित्व, सहिष्णुता र लोकतान्त्रिक मूल्यप्रतिको सम्मान विकास गर्नुपर्छ। नागरिकले राज्यबाट आफ्ना अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वाभाविक हो। तर राज्य र समाजप्रतिको आफ्नो भूमिका र जिम्मेवारी बुझ्नसमेत उत्तिकै आवश्यक हुन्छ। यसका लागि हाम्रो शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको छ। शिक्षालाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी विवेकशील, सिर्जनशील, नैतिक र जिम्मेवार नागरिक निर्माण गर्ने माध्यमका रूपमा विकास गर्नुपर्छ भन्ने मलाई लाग्छ। विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षण विधि, पाठ्यक्रम र मूल्याङ्कन प्रणालीलाई जीवनोपयोगी ज्ञान, दृष्टिकोण, आलोचनात्मक चिन्तन र नागरिक जिम्मेवारीसँग जोड्नुपर्छ। शिक्षा प्रणालीको सुधारसँगै पठन संस्कृतिको विकास पनि उत्तिकै आवश्यक छ।’
उनले विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणालीलाई जीवनोपयोगी ज्ञान, दृष्टिकोण, आलोचनात्मक चिन्तन र नागरिक जिम्मेवारीसँग जोड्नुपर्ने बताइन्।
