नेपालीहरूको महान् चाड बडादशैँको रन्को गाउँ–शहरमा फैलिन थाल्दा गण्डकीको मुख्य व्यापारिक केन्द्र पोखरामा छुट्टै चहलपहल थपिन्छ। त्यो चहलपहल हो, समुद्री सतहदेखि ४ हजार मिटरभन्दा अग्लो तिब्बती सीमावर्ती पठारबाट हिँडाएर ल्याइने रैथाने हिमाली च्याङ्ग्राको आगमन। यसपालि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र, उपल्लो डोल्पाका विकट खर्कहरू र दार्चुलाको हिमाली खण्डबाट १३ हजारभन्दा बढी च्याङ्ग्रा पोखरा ओराल्ने लक्ष्य राखिएको छ। हिमाली हावापानी र स्वच्छ प्राकृतिक खर्कमा चरेका यी च्याङ्ग्राहरू केवल मासुका लागि मात्र होइनन्, नेपाली मौलिक चाडपर्वको अभिन्न सांस्कृतिक र आर्थिक धरोहर हुन्। तर यो यात्रा सहज थिएन। कालीगण्डकी करिडोरमा यस वर्ष आएको अविरल वर्षा, भीषण बाढी र पहिरोले बाटो ठाउँ–ठाउँमा अवरुद्ध पारेको थियो। दार्चुलाबाट आएका व्यापारीहरूले चार दिनसम्म निरन्तर कष्टकर ढुवानी गरेका छन् भने मुस्ताङका गोठालाहरूले हप्तौँको पदयात्रा गरेर च्याङ्ग्रा सुरक्षित रूपमा पोखराको आँगनमा पुर्याएका छन्।
बाढीपहिरोको सास्ती खेपेर आफैँ बजार आइपुगेका जनप्रतिनिधि
वडाध्यक्ष सुरेन्द्र गुरुङको सादगी, संघर्ष र किसानप्रतिको प्रत्यक्ष उत्तरदायित्व
सामान्यतया स्थानीय तहका निर्वाचित प्रतिनिधिहरू नीतिनिर्माण र प्रशासनिक बैठकहरूमा व्यस्त देखिन्छन्। तर मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले यसपटक एउटा अनौठो र प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। उनले आफ्नो वडालाई च्याङ्ग्राको ‘पकेट क्षेत्र’ घोषणा गरेर मात्र रोकिएनन्। किसान र आफ्नै गोठका सयौँ च्याङ्ग्रा धपाउँदै आफैँ पोखराको याम्दी बजारमा ओर्लिए।
उनले भने, ‘हिमाली जडीबुटी खाएको हाम्रो गाउँघरको रैथाने काठे च्याङ्ग्रा अरूजस्तो हुँदैन, यसको मासु निकै स्वादिलो र स्वस्थ हुन्छ।’
कालीगण्डकी नदीमा आएको बाढीले मुस्ताङ–पोखरा सडकखण्डका कैयौँ खण्ड बगाउँदा भोक, निद्रा र चिसो मौसमको सामना गर्दै गुरुङको टोलीले च्याङ्ग्रा जोगाउँदै ओराल्यो। याम्दीको हाटमा च्याङ्ग्रा समातेर ग्राहकहरूसँग संवाद गरिरहेका वडाध्यक्ष गुरुङको मुहारमा थकानभन्दा बढी रैथाने उत्पादन राजधानी र सहरी उपभोक्तासम्म पुर्याएको गर्व झल्किन्थ्यो।
‘हाम्रा किसानहरूले वर्षभरि हिमाली चिसो र खर्कमा गरेको पसिनाको मूल्य बिचौलियाले होइन, किसान स्वयंले पाउनुपर्छ भन्ने मेरो अठोट हो,’ वडाध्यक्ष गुरुङले भने।
उनको यो उपस्थिति केवल व्यापार मात्र होइन, श्रमको सम्मान र उत्पादनमूलक राजनीतिको सटिक नमुना बनेको छ।
‘राजनीति जनताको जीवनसँग जोडिनुपर्छ। जब हाम्रा गोठाला बाढीपहिरोमा जोखिम मोलेर च्याङ्ग्रा हिँडाउँछन्, तब वडाध्यक्ष कुर्सीमा बसेर हेरिरहन सक्दैन।’
याम्दीमा व्यवस्थित खोर र प्रविधिको पाइला
जौवारी वन उपभोक्ता समिति र मिलनजंग राणाको अगुवाइमा सुरु भएको आधुनिक व्यवस्थापन
विगतका वर्षहरूमा पोखराको मुख्य सडक किनार, चौर र गल्लीहरूमा च्याङ्ग्रा राख्दा धुलो, फोहोर, ट्राफिक जाम र मूल्यमा अन्धाधुन्ध मोलमोलाइ हुने गर्थ्यो। यसपटक भने पोखराको याम्दीमा त्यो दृश्य पूर्ण रूपमा फेरिएको छ। जौवारी वन उपभोक्ता समितिका सदस्य एवं खसी–बोका तथा च्याङ्ग्रा व्यवस्थापन समितिका संयोजक मिलनजंग राणाको सक्रिय पहलमा सडकछेउमा ५० भन्दा बढी व्यवस्थित, सुरक्षित र हावाहुरी थेग्ने काठे खोरहरू निर्माण गरिएका छन्।
प्रत्येक खोरमा पानी, दाना र बस्ने ठाउँको व्यवस्था मिलाइएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, ग्राहक र व्यापारीबीच पारदर्शिता ल्याउन डिजिटल तौल काँटा राखिएको छ। उपभोक्ताले अब आँखाको अन्दाजमा होइन, वास्तविक तौलका आधारमा न्यायोचित मूल्य तिरेर च्याङ्ग्रा किन्न सक्छन्। जबरा सिमपानी जौवारीमा भेडा–च्याङ्ग्राको व्यवस्थापन गरिएको र विगतको भन्दा व्यवस्थित बनाइएको बताउँछन्।
उनले भने, ‘अहिलेसम्म १० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा आएको छ। हामीले ४० वटाजति खोर बनाएका छौँ। निजी जग्गामा पनि खोर बनाइएको छ। हाम्रो महान् पर्व मनाउनै पर्छ। पोखरा र आसपासका जिल्लामा च्याङ्ग्रा सबैलाई मन पर्छ। स्वस्थ छन्, सबै छानेर किनेर सबै मिलेर दशैँ मनाऔँ, गुणस्तरको च्याङ्ग्रा छ। सस्तो पनि छ।’
परम्परा र आधुनिकताको संगमः स्थानीय अर्थतन्त्रमा नयाँ उभार—रैथाने उत्पादनको संरक्षण, प्रत्यक्ष बजार र समृद्धिको दिगो गोरेटो
मुस्ताङी च्याङ्ग्रा केवल दशैँको खान्की मात्र होइन, यो गण्डकी प्रदेशको हिमाली र पहाडी भेगबीचको आर्थिक तथा भावनात्मक सेतु हो। हिमाली पाटनमा यार्सागुम्बा, पदमचाल, जटामसी र पाँचऔँले जस्ता बहुमूल्य जडीबुटी चरेका काठे च्याङ्ग्राको मासु पोषिलो र प्राकृतिक रोगप्रतिरोधी मानिन्छ।
भेडा–च्याङ्ग्रा किन्न आएका यामकान्त गौतमले दशैँ सुरु भएकाले च्याङ्ग्रा किन्न आएको बताए। आफूले पनि किनेर राखिसकेको र विजया दशमीमा दुःख बिर्सिएर खुसी मनाउने तयारी रहेको उनले बताए।
उनले भने, ‘यी भेडाहरू लेकबाट झारिएका हुन्। यिनीहरूले बुटी खाएका छन्। कुनै विषादी छैन, स्वच्छ हावापानीमा हुर्किएका छन्। केही महँगो भए पनि एकपटक दशैँ मनाउँदा राम्रोसँग नै मनाऔँ भन्ने हिसाबले आएका हौँ।’
वडाध्यक्ष सुरेन्द्र गुरुङको प्रत्यक्ष बजार उपस्थिति र मिलनजंग राणाको व्यवस्थित हाट व्यवस्थापनले एउटा स्पष्ट सन्देश दिएको छ—जब परम्परालाई आधुनिक व्यवस्थापनको साथ मिल्छ, तब स्थानीय अर्थतन्त्र आत्मनिर्भरतर्फ अघि बढ्छ।
याम्दीमा च्याङ्ग्रा किन्ने उपभोक्ता, हेर्न जाने बालबालिका तथा परिवारहरूको उत्साहले पोखरामा दशैँको उमङ्ग भित्र्याइसकेको छ। यस पहलले अन्य क्षेत्रका स्थानीय उत्पादनलाई पनि कसरी व्यवस्थित बजारसँग जोड्ने भन्ने ज्वलन्त मार्गचित्र कोरेको छ।
‘यो केवल च्याङ्ग्राको किनबेच होइन, हिमालको पसिना र पोखराको विश्वासबीचको ऐतिहासिक उत्सव हो।’
