२७ असोज, धनकुटा । धनकुटा नगरपालिका–८ स्थित तमोर नदीको किनारमा ढुंगामाथि फसेका एक व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय युवाहरूको सहयोगमा सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार राति नदी किनारमा एक व्यक्ति फसेको सूचना प्राप्त भएपछि प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।
संयुक्त टोलीले घटनास्थलमा पुगेर बुझ्दा रगुवा खोला क्षेत्रमा पुल निर्माणको काम गर्दै आएको समिनारायण कन्स्ट्रक्सन प्रालिमा कार्यरत एक कामदार नदी किनारमा अलपत्र परेको पाइएको थियो। स्थानीय युवाहरूको सहयोगमा वैकल्पिक बाटो हुँदै घटनास्थलमा पुगेर मध्यरातमा उनको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।
उद्धार गरिएका व्यक्ति मोरङको ग्रामथान गाउँपालिका–१ निवासी २९ वर्षीय अर्जुन सरदार रहेको प्रहरीले जनाएको छ। दसैँको बिदामा घर जान मुलघाटतर्फ निस्किएका सरदार तमोर नदीमा पौडी खेलेर पारि पुगेका थिए। त्यसपछि बाटो पत्ता लगाउन नसक्दा उनी नदी किनारको ढुंगामा अलपत्र परेको प्रहरीले जनाएको छ।
उद्धारपछि सरदारलाई समिनारायण कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि शिव नारायण यादवको जिम्मा लगाइएको थियो।
उद्धार कार्यमा धनकुटा नगरपालिका–८ का स्थायी बासिन्दा तथा हाल साँगुरीगढी गाउँपालिका–३ मा बस्दै आएका ४९ वर्षीय सुमन राई र २५ वर्षीय सुरेश राईले सहयोग गरेका थिए। त्यसैगरी, साँगुरीगढी गाउँपालिका–३ का ३१ वर्षीय आर्यन याख्खा र २५ वर्षीय दिनेश याख्खा पनि उद्धारमा खटिएका थिए। प्रहरी नायब उपरीक्षक भण्डारीले उनीहरूको सहयोगमा उद्धार कार्य सफल भएको जानकारी दिए।
